नेभिगेशन
विदेश

कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?

काठमाडौं : गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै ‘अन्तर्राष्ट्रिय सहकार्यमा विश्वको लागि उदाहरण’ भएको बताएका थिए । गत जनवरीदेखि भारतले अन्य मुलुकलाई  कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वितरण सुरु गरेको थियो ।

हर्षवर्धनको आशा मुलुकमा घट्दो क्रममा रहेको दैनिक नयाँ संक्रमितको संख्याले जगाएको थियो । सेप्टेम्बरको मध्यमा दैनिक ९३ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका भारतमा यो संख्या फेब्रुअरीको मध्यमा आइपुग्दा यो संख्या औसतमा ११ हजारमा झरेको थियो । एक सातामा औसतमा दैनिकरुपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक सयभन्दा कम थियो ।


गत वर्षको अन्तिमबाट भारतमा कोरोना नियन्त्रणको उत्साह बढेको थियो । राजनीतिकर्मी, स्वास्थ्य अधिकारी र सञ्चारमाध्यमले पनि भारत अब कोरोनाको जोखिमबाट मुक्त रहेको बताइरहेका थिए । डिसेम्बरमा भारतको केन्द्रीय बैंकका अधिकारीले पनि भारतमा कोरोना संक्रमण निरन्तर घट्दै गएको बताएका थिए । प्रधानमन्त्री मोदीलाई भारतमा ‘खोप गुरु’ को नामले चिन्न थालिएको थियो ।

एक प्रतिवेदनले अहिलेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण गर्न नसके जुन महिनाको पहिलो सातामा भारतमा कोरोनाबाट दैनिक २३ सयको मृत्यु हुनसक्ने देखाएको छ
फेब्रुअरीको अन्तिममा भारतको निर्वाचन आयोगले पाँच राज्यमा निर्वाचनको घोषणा गर्यो । निर्वाचन घोषणा गरेका पाँच राज्यको जनसंख्या १८ करोड ६० लाख छ । ८२४ सिटका लागि घोषणा गरिएको निर्वाचन मार्च २७ मा सुरु भएको थियो । यो निर्वाचन एक महिनासम्म चल्नेछ । पश्चिम बंगालमा यो निर्वाचन आठ चरणमा गर्ने घोषणा गरिएको थियो ।

भारतका विभिन्न पार्टीहरुले निर्वाचनको प्रचार सुरु गर्न थाले । तर, निर्वाचन प्रचारमा न भौतिक दूरीको नियम पालना भयो न त अरु जनस्वास्थ्यका नियम पालना गरियो ।

मार्चको मध्यमा क्रिकेट बोर्डले भारत र इंगल्याण्डबीचको खेलमा एक लाख ३० हजार समर्थकलाई खेल हेर्ने अनुमति दियो । यो खेल भारतको गुजरातमा भएको थियो । जहाँ खेल हेर्ने अधिकांश समर्थकले मास्क लगाएका थिएनन् ।

त्यसको एक महिनाभन्दा कम समयमा भारतमा कोरोना संक्रमण निकै तीव्र गतिमा बढ्न थाल्यो । जतिबेला भारतमा कोरोनाको दोस्रो लहर फैलिइसकेको थियो । केही सहरमा कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउनको घोषणा भइरहेको थियो । अप्रिलको मध्यसम्ममा भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या एक लाख नाघिसकेको थियो ।

आइतबार मात्र भारतमा २ लाख ७० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने १६ सयभन्दा धेरै संक्रमितको मृत्यु भएको थियो । ल्यान्सेट कोभिड कमिसनको एक प्रतिवेदनले अहिलेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण गर्न नसके जुन महिनाको पहिलो सातामा भारतमा कोरोनाबाट दैनिक २३ सयको मृत्यु हुनसक्ने देखाएको छ ।

भारत अहिले सार्वजनिक स्वास्थ्य आपतकालको सामना गरिरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि, अस्पतालबाहिर मृतकका आफन्तको रुवाबासी, अस्पतालमा पालो नपाएर देखिने एम्बुलेन्सको लामो जाम, मृतकको संख्या धेरै भएकाले घाटमा देखिएको समस्या र अस्पतालमा बेड पर्याप्त नहुँदा एउटै बेडमा दुईजनाको उपचार भइरहेको दृश्य सेयर गरेका छन् ।

भारतका अस्पतालहरुमा बेड, औषधि, अक्सिजन र पर्याप्त अक्सिजनको अभाव देखिन थालेको छ । औषधिको कालोबजारी भइरहेको छ भने कोरोना परीक्षणको नतिजा आउन केही दिन पर्खिनुपर्ने भएको छ । ‘उनीहरुले मलाई मेरो बच्चा मरेको तीन घण्टासम्म पनि खबर गरेनन्’, अस्पतालको आईसीयूबाहिर बसेकी एक महिलाले भनिन् । आईसीयूबाहिर रहेका अर्का एक व्यक्ति मानिसहरुलाई सम्झाउँदै थिए ।

अहिले भारतमा कोरोना खोप अभियान सञ्चालन भइरहेको छ तर यो अभियान निकै सुस्त गतिमा चलेको भन्दै भारत सरकारको आलोचना पनि भइरहेको छ । खोप कार्यक्रम सुरु गर्दा पनि कोरोना संक्रमण नियन्त्रणमा घरेलु खोपको प्रभावकारिताबारे मानिसहरुले आशंका व्यक्त गरेका थिए । गत साता भारतले १० करोड डोजभन्दा धेरै कोरोना खोप दिइसकिएको बताएको थियो ।

तर, अहिले भारतमा कोरोना खोपको अभाव देखिएको छ । विश्वको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियाले आगामी जुन महिनासम्म खोप आपूर्ति बढाउन नसक्ने बताइसकेको छ । भारतले अहिले अन्य मुलुकमा निर्यात गर्नुपर्ने खोपको निर्यातमा पनि रोक लगाएको छ । कोरोना संक्रमण बढेसँगै भारतले विदेशी कोरोना खोपको आयात पनि सहज बनाएको छ । यहाँसम्मकी संक्रमण बढ्दो क्रममा रहेकाले भारत अक्सिजन पनि आयात गर्नुपर्ने अवस्थामा छ ।

अहिले भारतमा विश्वको सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता बन्द स्टेडियमभित्र भइरहेको छ । तर, हजारौं मानिसहरु आफ्नो नेतासहित निर्वाचन र्‍यालीमा गइरहेका छन् भने लाखौंको संख्यामा मानिसहरु कुम्भ मेलामा सहभागी भएका छन् । यो कोरोना संक्रमण तीव्र गतिमा बढ्नुको मुख्य कारण रहेको समाजशास्त्रका प्राध्यापक शिव विश्वनाथन बताउँछन् ।

विशेषज्ञहरु अब भारत कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगिसकेको बताउँछन् । मानिसहरुले युवामा दुर्लभ मानिने, आन्तरिक प्रतिरोधी क्षमता बलियो रहेको, ठूलो जनसंख्या गाउँमा बस्ने गरेकोजस्ता कारण देखाउँदै कोरोनामाथि जित भएको दाबी गर्न थाले र आवश्यक सतर्कता अपनाएनन् । ब्लूमवर्गमा आलेख लेख्दै आएका मिहिर शर्माका अनुसार अधिकारीहरुको अहमता, अति राष्ट्रवाद, लोकप्रियता र प्रशासनिक कमजोरीको कारण अहिलेको संकट आएको हो ।

त्यसका साथै विवाह तथा ठूला सामाजिक उत्सवमा पनि ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । सरकारले पनि राजनीतिक र्‍याली गर्ने र धार्मिक भेलालाई अनुमति दिनेजस्ता कदम चालेकाले पनि मानिसहरुमा मिश्रित सन्देश गएको विशेषज्ञहरुको भनाइ छ ।

दोस्रो लहरलाई रोक्न नसकिए पनि यसलाई पछि भने सार्न नसकिने गौतम मेनोन बताउँछन् । अन्य मुलुकले जस्तै मुलुकमा सबैभन्दा पहिला कोरोनाको नयाँ भेरियन्ट देखिँदा नै आवश्यक सतर्कता अपनाउनुपर्नेमा भारत त्यसमा पछि परेको मेनोनको भनाइ छ ।

– बीबीसीबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै