नेभिगेशन
समाज

नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु

 

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा  दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए ।  नेपालमा यो पहिलो जहाज दुर्घटना भने होइन । यसअघि पनि थुप्रै पटक नेपालमा जहाज तथा हेलिकप्टर दुर्घटना भएका छन् ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । यस्ता दुर्घटनामा थुप्रैको ज्यान गएको छ । उक्त अवधिमा नेपालमा भएका जहाज तथा हेलिकप्टर दुर्घटनामा ८५० जनाभन्दा बढीको मृत्यु भएको छ । 

नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन जहाज दुर्घटना भएको थियो । रोयल फोर्स एयरको जहाज दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन । नेपालमा जहाज दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन् १९५५ मा भएको थियो । कालिंगा एयरको जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

यस्तै काठमाडौंमा इण्डियन एयरलाइन्सको जहाज सन् १९५६ मा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । इण्डियन एयरलाइन्सको जहाज सन् १९५७ मा पनि नेपालमा दुर्घटनामा परेको थियो । टीकारभैरवमा इण्डिन एयरलाइन्सको जहाज दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो । यसको एक वर्ष नबित्दै सन् १९५८ मा इण्डियन एयरलाइन्सको अर्को जहाज नेपालमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो । 

नेपाल एयरलाइनसको जहाज सन् १९६० मा दुर्घटनामा परेको थियो । भैरहवामा दुर्घटना हुँदा चार जना यात्रुको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६२ मा ढोरपाटनमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको अर्को जहाज ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६९ मा दुर्घटनामा परेको थियो । सो जहाज दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । यसको एक वर्षपछि सन् १९७० मा दिल्लीमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो

सन् १९७० मा नै रोयल लाइटको जहाज जोमसोममा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । यसको दुई वर्षपछि रोयल लाइट धुलिखेलमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।

नेपाल एयरलाइनसको जहाज सन् १९७५ मा काठमाडौंमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने सन् १९७६ मेघौलीमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।  सन् १९७९ मा लाङ्टाङ्मा जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

नेपाल एयरलाइन्सको जहाज सन् १९८१ मा विराटनगरमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको जहाज सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका थिए । सन् १९८५ मा नेपालमा अर्को विमान दुर्घटना भएको थियो, जसमा परी २५ जनाले ज्यान गुमाएका थिए । 

थाई एयरको जहाज सन् १९९२ मा नेपालमा दुर्घटनामा परेको थियो । रसुवामा भएको उक्त दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो । पाकिस्तान एयरलाइन्सको जहाज सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो । 

एभरेष्ट एयरको जहाज सन् १९९२ मा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइन्सको जहाज सन् १९९५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । कर्णाली एयरको जहाज सन् १९९७ मा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । लिबानी जहाज सन् १९९८ मा नेपालमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । 

एसियन एयरको जहाज सन् १९९८ मा दुर्घटनामा परेको थियो । सोलुखुम्बुमा भएको उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको जहाज सोलुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

नेकोन एयरको जहाजा सन् १९९९ मा जुम्लामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । सोही वर्ष मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । 

नेपाल एयरलाइन्सको जहाज सन् २००० मा डडेल्धुरामा दुर्घटना भएको थियो । सो दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । फिस्टेल एयरको हेलिकप्टर सन् २००१ मा रारा तालमा खस्दा चार जनाको मृत्यु भएको थियो ।

यस्तै, स्काइलाइनको जहाज सन् २००२ मा सुर्खेतमा दुर्घटना भएको थियो । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । सांग्रीला एयरको जहाज सन् २००२ मा दुर्घटना भएको थियो । कास्कीमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । 

यती एयरलाइन्सको जहाज सन् २००४ मा लम्जुङमा दुर्घटना भएको थियो । सो घटनामा ३ जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टिको जहाज सन् २००५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । 

यती एयरलाइन्सको जहाज सन् २००६ मा दुर्घटना भएको थियो । जुम्लामा भएको उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष यती एयरलाइन्को अर्को जहाज लुक्लामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । 

अग्नी एयरको जहाज सन् २०१० मा दुर्घटना भएको थियो । मकवानपुरमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । तारा एयरको जहाज सन् २०११ मा ओखलढुंगामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । 

अग्नी एयरको जहाज सन् २०१२ मा जोमसोममा दुर्घटनामा परेको थियो । दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । सोही वर्ष सीता एयरको जहाज काठमाडौंमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए । 

नेपाल एयरलाइन्सको जहाज सन् २०१४ मा अर्घाखाँचीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । सन् २०१५ अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिँदा हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो । 

सन् २०१५ मा नेपालमा अर्को हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । तारा एयरको जहाज सन् २०१६ मा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । युएस–बाङ्ग्ला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।

सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा नै मकालु एयरको जहाज सिमिकोटमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए । 

एयर डाइनेस्टीको हेलिकप्टर सन् २०१९ मा ताप्लेजुङको सिस्नेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । सोही वर्ष समिट एयरको जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

रातोपाटिबाट साभार 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै