नेभिगेशन
जयपृथ्वी विशेष

बित्थडचिरमा एमालेले जित्ने आधार तयार गरेको छु: अध्यक्ष बोहरा

सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित रहेको बझाङ जिल्लाको प्रवेशद्वारमा बित्थडचिर गाउँपालिका रहेको छ । साबिकका स्याँडी, देउलेख र सुनकुडा गाविस मिलाएर बनाएको बित्थडचिर अहिले जिल्लाकै सुगम गाउँपालिका भनेर पनि चिनिन्छ । .१३ वर्ग किमी क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको कूल जनसङ्ख्या १७ हजार १ सय ५४ जना जनसङ्ख्या रहेको छ । सदरमुकाम चैनपुर जोड्ने जय पृथ्वी राजमार्गको २१ किलोमिटर पक्की सडक यही गाउँपालिका भएर जान्छ । स्थानीय सरकार आइसकेपछि पालिकाका नौ ओटै वडामा सडक सञ्जालमा जोडिएका छन् ।  यो गाउँपालिका कृषि उत्पादनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट बित्थडचिर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका प्रेम बहादुर बोहरासँगको कुराकानी । 

आफ्नो पाँच वर्षे कार्यकालको मूल्याङ्कन कसरी गर्नुभएको छ ?
यो पाँच वर्ष एकदमै चुनौती र कठिनाइका साथ बितेको छ । सबै कुराहरू नयाँ संरचना भए, जनताले आफ्नो अमूल्य मत दिएर पठाएपछि हामी खुल्ला मैदानमा जस्तै थियौ । त्यो अवस्थामा हामीले यो पाँच बर्सभित्र पालिका स्थापना गर्नुपर्‍यो, पालिकाका ऐन कानुनहरू बनाउनुपर्ने । कर्मचारी व्यवस्थापन गर्नुपर्‍यो । सँगै जनप्रतिनिधिका काम कर्तव्य र अधिकारका विषयमा सिकाई र अध्ययन गर्नुपर्यो ।

यही अवस्थालाई हेर्ने हो भने यो पाँच वर्ष हाम्रो सिकाइको कार्यकाल जस्तै भएको छ । सुरुवातमा कुनै पनि ठोस कानुन ठोस बाटो र लक्ष्य नबनेको हुनाले हामीले सबै कुराहरू तयार गर्नु पर्ने चुनौती, समस्या र जटिलता भयो भने अर्को तिर यो पाँच वर्षको बिचमै विश्व महामारीको कोरोना भाइरस फैलियो । यसबाट जनतालाई बचाउन, कोभिडको रोकथाम तथा व्यवस्थापन गर्न र जन धनको क्षति हुनबाट बचाउन धेरै अभ्यास गर्नुपर्‍यो धेरै मेहनत र दुःख गर्नु परेको अवस्था आयो । त्यसका बाबजुद पनि हामी त्यसबाट सफल भएको महसुस भएको छ ।

सँगै योजनाहरू कति किसिमको ल्याउने योजनाहरू कसरी निर्माण गर्ने र कस्ता योजनाहरूलाई पहिलो प्राथमिकता दिने विषयमा जनतासँग सल्लाह सुझाव ल्याएर बनाउँदा पनि केही कठिनाइ भएको छ । कठिनाइका बाबजुद पनि हामीले पाँच वर्षमा धेरै कामहरू गरेको, धेरै संघर्ष र मेहनत गरेका छौँ । हामीले यो पाँच बर्सभित्र कहिले पनि हामी जनप्रतिनिधि हौँ र जनता सँग रहेर काम गर्नुपर्छ भन्ने कुराको जिम्मेवारी दायित्व बोध गरायो । जनप्रतिनिधि भइसकेपछि हामीले कहिल्यै पनि सुख शान्ति अनुभूति गर्न पाएको छैन । यही अवस्थामा यो कार्यकाल सफल भएको महसुस गरेको छौ । हामीले गरेका हरेका कामहरू सफल भएका छन् जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् यही आधारमा हामी सफल भएका छौँ ।

चुनावमा गरेको प्रतिबद्धता कति पूरा भए ?
मैले स्थानीय चुनावमा जाँदै गर्दा केही प्रतिबद्धताहरू घोषणा पत्रमा उल्लेख गरेको थिए । ती घोषणा पत्रलाई टेकेर विशेषगरी दिगो विकासमा १७ ओटा लक्ष्यलाई समातेर र बित्थडचिरका जनताका आधारभूत समस्याहरूलाई टेक्दै अगाडी बढेका छौ र यो कुराहरू मलाई लाग्छ शतप्रतिशत सम्पन्न नभए पनि हाम्रो घोषणा पत्र र प्रतिनद्धताको आधारमा टेकेर विकास काम, क्रियाकलाप, नियम कानुन लगायत सुशासनका आधारहरूमा अगाडी बढेका छौ । मलाई लाग्छ मेरो घोषणा पत्रमा उल्लेख भएका झन्डै ८० प्रतिशत कामहरू सम्पन्न भएको र २० प्रतिशत कामहरू सञ्चालनमा रहेका र कर्मागतमा रहेका छन् ।

दीर्घकालीन महत्त्व राख्ने काम चाहिँ के के गर्नुभयो ?
बित्थडचिर गाउँपालिकामा दीर्घकालीन महत्त्वका कामहरू धेरै छन् । पहिलो नम्बरमा हामीले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेका छौ । शिक्षा गुणात्मक सुधार, भौतिक पूर्वाधार, शैक्षिक सामाग्रीहरू, सरसफाइ, खानेपानीको क्षेत्रमा हामीले यो क्षेत्रमा ठुलो लगानी गरेका छौ । बित्थडचिरका प्रत्येक विद्यालयमा आधारभूत आवश्यकताहरू पुरा गरेका छौ । यस्तै बित्थडचिरमा १ सय ३५ जना स्वयंसेवक शिक्षकहरू पलिकास्तरबाट सेवा सुविधा दिने गरी परिचालन गरिएको छ ।

त्यसलाई हामीले एकदमै दीर्घकालीन महत्त्वको काम सम्झेका छौ किन भने यो भन्दा पहिले आवश्यकताको आधारमा भन्दा अस्तित्वको आधारमा विद्यालय खुलेका थिए, जिल्ला शिक्षा कार्यालयले विद्यालय खोल्ने अनुमति दिएको थियो र तिनलाई अस्तव्यस्त छोडेको थियो । ती विद्यालयमा जनताले चन्दा सङ्कलन गरेर, विभिन्न किसिमका शुल्कहरू लगाएर निजी शिक्षक राखिएका थिए । निजी शिक्षकहरुलाई चन्दा सङ्कलन गरेर तलब भत्ता दिनुपर्ने जनतामा त्यो व्ययभार थपिएको थियो र जनताहरू हैरान भइसकेका थिए ।

एउटा विद्यालयमा बच्चाहरूलाई पढाउन वार्षिक शुल्कहरू तिर्नुपर्ने, परीक्षा शुल्कहरू दिनुपर्ने, त्यस बाहेक विद्यालयलाई चन्दाहरू दिएर शिक्षक पाल्नुपर्ने अवस्था थियो जनताको मागको आधारमा हाम्रो घोषणा पत्रमा उल्लेख भएको उक्त समस्यालाई अन्त्य गरेका छौ । बित्थडचिरमा अहिले हामीले पूर्ण रूपमा निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरेका छौ । जसमा कुनै पनि विद्यार्थीलाई १ कक्षा देखी १२ कक्षासम्म १ रुपैयाँपनि शुल्क नपर्ने गरी निःशुल्क शिक्षाको आधार तयार गरेका छौ । मलाई लाग्छ यो दीर्घकालीन समस्या थियो र यो समस्या समाधान भएको छ ।

त्यस बाहेक स्वास्थ्य क्षेत्रमा पनि हामीले थुप्रै कामहरू गरेका छौ । हामी आउनुभन्दा पहिले बित्थडचिरमा तीन ओटा मात्रै स्वास्थ्य संस्था थिए । अहिले यो पाँच वर्षको अवधिमा हामीले १२ ओटा स्वास्थ्य संस्थाहरू स्थापना गरेर निःशुल्क रूपमा सेवा दिई रहेका छौ । देउलेख स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गरेका छौ, ठुलो लगानीमा ल्याब, भिडियो एक्सरे, लगायतका सुविधाहरू थप गरिएको छ । हामी आए देखी अस्पतालमा २ देखी ४ जना डाक्टरहरूले सेवा प्रदान गरी रहेका छन् ।

त्यसै गरी बित्थडचिरमा हामीले बित्थडचिरमा १८ करोडमा हामीले १५ सैय्याको अस्पताल स्थापना गरेका छौ । ९ करोडको गाउँपालिका भवन स्थापना गरिएको छ । साढे तीन करोडमा बित्थड चिल्ड्रेन पार्क निर्माण भइरहेको छ । १०० ओटा भन्दा बढी मठ मन्दीरहरु निर्माण भएका छन् । झन्डै १४ सय जनालाई एक घर एक धाराले छोएको छ । ५ देखी ६ ओटा योजनाहरू लिप्टीङ्गी खाने पानीहरु निर्माण भएका छन् । यस्तै प्रत्येक वडाहरूमा छुने १७ ओटा सडकहरू निर्माण भएका छन् ।  यिनीहरू दीर्घकालीन रूपमा रहने विकास निर्माणहरु हुन् ।

मूलतः जनताका आकाङ्क्षा कस्ता हुँदा रहेछन् जनप्रतिनिधिसँग ?
जनताका आकाङ्क्षा विभिन्न थरी थरीका छन् । हामीले हेर्दै जाँदा सबैका एउटै किसिममा एउटै प्रकारका माग देखिदैनन् । स्थानीय सकार आइसकेपछि जनताले सबै कुराहरूको अपेक्षा राख्ने गरेका छन् । उनीहरूले सिंह दरबारको अधिकार गाउँबाट लिन चाही रहेका छन् । कतिपय अवस्थामा कानुन विधि पद्धति भन्दा बाहिरका समस्याहरु पनि हामी कहाँ आउने गरेका छन् । हामीले जनताको माग आवश्यकता र कानुनी आधारमा टेकेर सम्बोधन गर्ने प्रयास गरेका छौँ ।

विकासका काममा भएका प्रगतिहरू बताइदिनुस् न !
विकास निर्माणका धेरै कुराहरू त माथि आइसकेका छन् । त्यस बाहेक पनि गाउँपालिका गौरवका योजनाहरू पनि हामी कहाँ निर्माण हुँदै छन् । गाउँपालिका भवन निर्माण, १५ सैय्याको अस्पताल निर्माण, पर्यटकीय क्षेत्रको विकास, १७ ओटा सडक सञ्जालहरू निर्माण, झन्डै २०० भन्दा बढी खाने पानी निर्माण भएका छन् । १४ सय घरपरिवारलाई एक घर एक धाराले छोएको छ । झन्डै १२ ओटा स्वास्थ्य चौकीहरू निर्माण भएका छन् ।

महत्त्वपूर्ण कुराहरू जनतालाई राहतका कुराहरू जनतालाई सेवा प्रवाह गर्ने कुराहरूमा जनप्रतिनिधीहरुले रातदिन समय प्रदान गरेका छन् । आवश्यकता अनुसार सेवा दिएको अवस्था छ । त्यो खालको हामीले सेवा दिएका छौँ ।

बित्थडचिरका जनतालाई आर्थिक रूपमा सुखी र समृद्ध बनाउने कार्यक्रमहरू चाहिँ के के भए ?
खास गरी बित्थडचिरका जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउने, समृद्ध बनाउने र जीविकोपार्जनका सवालमा अगाडी बढाउन हामी लागि परेका छौ । कृषि क्षेत्रकै कुरा गर्दा हामीले व्यावसायिक कृषिलाई अगाडि बढाउने भनेर हामीले योजना बनाए अगाडी बढेका छौ । बित्थडचिर गाउँपालिका तराई देखी हिमालसम्मको भुभाग समेटेको क्षेत्र छ । जसमा देउरामा फल्ने कुराहरू तराईमा फल्छ भने तराईमा फल्ने चिज देउरामा फल्छ । यस्तै हिमालमा फल्ने स्याँउ देखी आलुसम्म फल्ने ठाउँहरू बित्थडमा छन् ।

विषेश गरी कृषिलाई व्यावसायिक बनाउने र बरोजगार युवाहरूलाई स्वरोजगार बनाउन सिप मूलक तालिमहरू प्रदान गर्ने, बेरोजगार युवाहरूलाई रोजगार सिर्जना गर्ने, हरेक योजनाहरूमा महिलाको सहभागिता गराएर काम गराउने, महिलाहरूलाई अगाडी बढाउने । दीर्घ रोगीहरूलाई आर्थिक सहायता, ज्येष्ठ नागरिकलाई सम्मान, विपन्नलाई आर्थिक सहायताका कार्यक्रमहरू ल्याएका छौ । कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने, स्थानीय युवाहरूलाई रोजगारीका बढी सहभागी गराउने र सिप विकास र क्षमताका आधारमा उहाँहरूलाई रोजगारी सिर्जना गर्ने कुराहरूमा हामी अगाडी जोड् दिएका छौ ।

यो पाँच वर्षको अवधिमा आफूले चाहेर पनि गर्न नसकेको काम केही छन् ?
यो पाँच वर्षमा मेलै अघि पनि भने धेरै समस्याहरू छन् । हामीले चाहेर पनि गर्न नसकेका केही कामहरू छन् । हामीले यो पाँच वर्षमा ग्रामीण सडकहरू स्थापना गर्ने र ग्रामीण सडकहरू सञ्चालनमा ल्याउने भन्ने कुराहरू हामी अगाडी बढेका थियौ, त्यो सोच थियो । तर कतिपय ठाउँमा ग्रामीण सडकहरू सञ्चालनमा आए पनि धेरै ठाउँमा सञ्चालन हुन सकेका छैनन् । यसमा केही समस्याहरू देखिए पर्याप्त मात्रामा बजेटको अभाव पनि रह्यो ।

ठेक्का मार्फत काम गर्दै जाँदा ठेकदारहरूले पनि एकदम बदमासी गरे, कतिपय ठाउँमा जग्गा र स्थानीयको विवादका कारण सडक सञ्जाल विस्तारमा गर्न चाहेर पनि गर्न नसकेको देखिन्छ । ती बाहेक हामीले चाहेर पनि ठुला योजनाहरू सञ्चालनमा ल्याए पनि अझै पनि स साना सिचाइका नहरहरू, खानेपानी सबै ठाउँमा बन्न बाकी छन् । कृषिको क्षेत्रमा सबै प्रकारको हावापानी र भूगोल समेटिएको भूभागमा परम्परागत खेती प्रणालीलाई विस्थापित गरेर व्यावसायिक र आधुनिक खेती प्रणालीमा जोड् दिन जरुरी छ ।

बित्थडचिरबाट आलु बन्दा लगायतका तरकारी निर्यात गर्ने विषयमा हामीले सोचे जति गर्न सकेका छैनौ र आगामी दिनमा खास गरी यहाँ भूभाग र यहाँको माटो जमिनलाई उर्वराशक्तिलाई एउटा उत्पादनमुखी र व्यवसायिकमुखी बनाए पठाउनुपर्ने छ, यसमा हामी अलिकति कमजोर चाही भएका छौ, सफल हुन सकेका छैनौँ ।

तपाईँ आबद्ध दलको प्रदेश र संघमा पनि सरकार थियो । तीनै तहमा आफ्नै पार्टीका सरकार हुँदा पनि गाउँपालिकामा के कस्ता कार्यक्रम र बजेट आए ?
खास गरी प्रदेश र संघबाट आएको बजेट तथा योजनाबाट सिगों पालिका असन्तुष्ट छौ । बजेट योजनाहरू आएको हो नआएको त हैन् तर कतिपय योजनाहरू व्यक्तिपिच्छे व्यक्तिगत रूपमा आएका जस्ता देखिए । यतिसम्म की हामीले लगानी गरेर योजनाहरू ल्याएका हौ भन्नसम्म पनि सुनिए ।

यस्तै प्रदेश संघबाट आएका योजनाहरूको अनुगमन तथा नियमन जिम्मेवारी हामीलाई नहुने र बजेट पनि बाहिरै बाट आउने बाहिरैबाट कार्यान्वयन भएको देखिने र त्यसको बजेटको निकासा पनि बाहिरबाट नै हुने गरेको देखिए । नितान्त रूपमा यसको प्रभावकारी कार्यान्वयनको जिम्मा गाउँपालिकालाई पनि नदेखिएको र त्यसको सही सदुपयोग, बजेट कार्यान्वयन सँगै गुणात्मक प्रभावकारी कार्यान्वयन नभएको अवस्था देखिन्छ । ती योजनाहरूमा पारदर्शिता शून्य अवस्थामा रहेको भएपनि बजेट आएको देखिन्छ ।

अन्य स्थानीय तहभन्दा आफ्नो गाउँपालिकाको नयाँ र फरक लाग्ने काम केही भयो त ?
समग्रमा देशभरका ७५३ ओटै पालिकाभन्दा फरक लाग्ने काम भनेको अघि पनि भनिसके शिक्षा क्षेत्रको गुणात्मक विकासको लागि सोचे जस्तो गर्न नसके पनि सङ्ख्यात्मक हिसाबले र पहुँचका आधारमा शिक्षा क्षेत्रमा परीक्षा समेत निःशुल्क गरेका छौ । बित्थडचिरबाट माथिल्लो तह अध्ययनका लागि बाहिर जान रोक्नबाट क्याम्पसहरूमा लगानी गरेका छौ । क्याम्पसका परीक्षादेखि परीक्षा केन्द्रको जिम्मा बित्थडचिर गाउँपालिकाले जिम्मा लिएको थियो ।

ऋहिले शिक्षा क्षेत्रमा पढाई सहित एकरूपता गर्ने कुनै पनि सरकारी विद्यालयमा १ कक्षा देखी १२ कक्षासम्म १ रुपैयाँपनि शुल्क नलाग्ने हिसाबले हामीले भौतिक, शैक्षिक र मानव स्रोतसाधनको सहिता व्यवस्थापन गर्ने हिसाबले १३५ जना जति स्वयमसेवक शिक्षकको सम्पूर्ण सेवा सुविधा पारिश्रमिक पालिकाले बेहोर्ने गरी व्यवस्थापन गरेका छौ । एउटा उधाहरणीय काम हो ।

कतिपय हामीले कल्पना नै नगरेको ठाउँमा खानेपानीका सोलार लिप्टीङ्ग योजनाहरू सम्पन्न भएका छन् । एक घर एक धारा अवधारणा झण्डै १४ सय घरमा धाराहरु जडान गरेका छौ । कोरोना महामारीका बाबजुत पनि हामीले धेरै कुराहरू सम्पन्न गरेका छौ । यस्तै स्वास्थ्य क्षेत्रको हिसाबमा ९ ओटै वडामा १२ ओटा स्वास्थ्य संस्थाहरू स्थापना गरेर सेवाहरू प्रदान गरी रहेका छौँ ।

बैशाख ३० मा पुनः स्थानीय चुनाव आउँदैछ, फेरि गाउँपालिकाको अध्यक्षमा दोहोरिने सोच बनाउनु भएको छ कि छैन त ?
अवश्यपनि । पार्टीले जिम्मेवारी र जनताले साथ सहयोग दिए भने हामीले गर्नुपर्ने धेरै कामहरू अधुरा छन् अपुरा छन्, पुरा गर्न बाकी छन् । हामीले यो पाँच वर्षे एकदमै जटिलता र चुनौतिका वर्षहरू बिताएका छौँ ।

अब नयाँ संरचनाका हिसाबले पनि नयाँ कानुन नियम कानुन निर्माण गरेर कार्यान्वयन गर्ने, कर्मचारी व्यवस्थापन गर्ने, योजनाहरू व्यवस्थापन गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन गर्नुपर्ने सँगै विश्व कोभिड महामारीको सामना गर्नुपर्ने र बाढी पहिरोका कारण ठुलो धनजनको क्षति भएको अवस्थामा धेरै कुराहरू अधुरा छन् अपुरा छन् धेरै कामहरू बाकी छन् । यी समस्याहरू समाधान गर्न हामीले पाँच वर्षसम्म देखेका छौ बुझेका छौ । बाढी पहिरोका कारण क्षति भएका ८४/८५ घरहरू पुनर्निर्माण बाटोमा अगाडी बढेका छौ । हामीले सुरक्षित नागरिक आवास घरहरू बनाएका छौ । अझै धेरै जनाहरू बाकी छन् र तमाम कामहरू गर्नुपर्ने बाकी छ र अझ यो पाँच वर्ष जनता र पार्टीले जिम्मा दियो भने जिम्मेवारी लिन तयार छु ।

यो पाँच वर्षमा हामीले विकासको खाका तयार गरेको छौ र यो पाँच वर्षको कामबाट कति सिकाई भयो । कति हाम्रा कमीकमजोरी र कस्ता कमजोरीहरू रहे ती  कमजोरीहरूको पृष्ठपोषणको सँगै अबको पाँच वर्ष कसरी अगाडी जान सकिन्छ भनेर अब आउने जनप्रतिनिधि भन्दा हामीलाई यो विषयमा ज्ञान भएको हुँदा जिम्मेवारी लिनुपर्ने देखिएको छ । जसको लागि जनताको अभिमत छ, मैले पहिलो चरण घरदैलो अभियान सम्पन्न गरी सकेको छु । झन्डै ८० प्रतिशत जनताको हामीप्रति विश्वास छ, आशा छ भरोसा छ र उहाँको आशा भरोसा र विश्वासलाई नटुटाउनको लागि अझ पार्टी र जनताले एक पटक मौका दियो भने पाँच वर्षपछि बित्थडचिर गाउँपालिकाको मुहार फेर्नका लागि हाम्रो अथक भूमिका र प्रयास रहनेछ ।

बित्थडचिरमा नेकपा एमालेले जित्ने आधारहरू के के तयार गर्नु भएको छ ? 
हामीले जित्ने आधारहरू धेरै छन् । मैले अघि पनि भने एकै पाँच वर्षे कार्यकालमा सबै कुरा पुरा हुने अवस्था रहदैन् र क्रमिक रूपले हामीले समग्र विकासका हिसाबले अगाडी बढेका छौ । दिगो विकासका लक्ष्यलाई आत्मसाथ गर्दै हामीले खाने पानीमा हामीले सबै जनताको पहुँच पुर्‍याउनु पर्ने छ, स्वयंसेवक शिक्षकहरूलाई लोकसेवा मार्फत सरकारी पहुँचमा ल्याउन दरबन्दी माग गर्ने अझै धेरै बाकी छन् । विद्युतमा राष्ट्रिय प्रसारण लाइन विस्तारमा सबैभन्दा अगाडी छौँ ।

२०७४ को अवस्थालाई हेर्ने हो भने राष्ट्रिय प्रसारण लाइन विस्तारको कुनै सम्भावना नै थिएन । हामी आएपछि तुरुन्तै विद्युतिकरण गरेर बित्थडचिर पालिकालाई आवश्यकताको आधारमा प्रोफाइल तयार गरेर दुई वर्षसम्म काम गर्दा झन्डै ५० प्रतिशतभन्दा बढी जनतालाई राष्ट्रिय प्रसारण लाइनको पहुँचमा पुर्याइसकेका छौँ । बाकी जनतालाई यो पाँच वर्षभित्र विद्युत् विस्तार गर्नुपर्ने छ, बित्थडचिरलाई अध्यारोमुक्त गाउँपालिका घोषणा गनुपर्ने छ । त्यसकालागि पनि थुप्रै आधारहरू तयार गरेका छौँ ।

कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत्, भौतिक पूर्वाधार, सडक सञ्जाल विस्तार लगायतका क्षेत्रमा भएको उल्लेखनीय प्रगति र जनताको पहुँच नै प्रमुख आधारहरू हुन । यस्तै सर्वहारा र विपन्न वर्गको क्षेत्रमा हामीले थुप्रै कामहरू गरेका छौ । त्यस बाहेक पुनः हामी निर्वाचित भएर आयौँ भने बित्थडचिरका जनतालाई विद्युत् महसुलमा गाह्रो भएको अवस्था छ । त्यसको लागि प्रत्येक महिना २० युनिटसम्म गाउँपालिकाले तिर्ने व्यवस्था गर्ने छौ । त्यसको लागि मैले जनतासामु प्रतिबद्धता जनाई सकेको छु ।

हाम्रो व्यवहार जनताप्रतिको माया मोह सेवा दिने क्रममा, सेवा लिने क्रममा जनतासँग जोडिएका कुरामा न्यायोचित ढङ्गले जनतामा माझ गएको हुनाले मलाई लाग्छ जनताले अहिले पनि हामीलाई पुनः निर्वाचित भएर आउनुपर्छ भन्ने आशा व्यक्त गरेका छन् । त्यस कारण पार्टीले जिम्मेवारी दियो भने जनतासँग भोट माग्ने र जित्ने आधार थुप्रै मात्रामा छन् जनताले हामीप्रति विश्वास गरेका छन् ।

बित्थडचिरमा गठबन्धन भए एमालेलाई जित्न कति सजिलो अप्ठ्यारो ?
केही अप्ठ्यारो त छ नै तर बित्थडचिरका जनताले दुई रूपमा बुझेका छन् । एक पक्षले सबै पार्टीहरू एक भए अब एमाले जित्न सक्दैन भन्ने भ्रम पनि छ तर अर्को पक्षले यो गठबन्धन भनेको यो त कमजोर हो, कमजोर कमजोरहरू मिलेर बनाउने सरकार हो । भोलि यसले कसरी सरकार चलाउला जितिसकेपछि त काँग्रेसले आफूलाई हेर्ला, समाजवादीले आफूलाई हेर्ला, त्यो भन्दा त एमालेलाई नै दिनु ठिक छ, एउटा पार्टी एउटा मत भन्न सक्ने बोल्न सक्ने अहिले गरेका कामहरु पनि देख्न सक्के भनेर जो सुकै गठबन्धन भएपनि हामीचाही एमालेलाई नै जिताउँछौँ भन्ने खालका जनताका अभिव्यक्तिहरु र मतहरू छन् । बित्थडचिरमा जति गठबन्धन भएपनि नेकपा एमालेले जित्छ भन्ने सुनिश्चित छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
२०७४ सालको पहिलो निर्वाचनमा बित्थडचिरका जनताहरूले नेकपा एमालेलाई आफ्नो अमूल्य मत दिएर आशा भरोसाका साथ यहाँको विकासका लागि विजय गराउनु भयो । त्यसका लागि पनि म जाँदाजाँदै बित्थडचिरका जनताप्रति र आम नागरिकप्रति आभारी छु । उहाँको अमूल्य मतको अहिले पनि रिणी छु । सदा रिणी रहनेछु पहिलो स्थानीय सरकारको प्रमुख बनाइदिनु भएको छ । पाँच वर्षसम्म काम गर्दै जाँदा केही कमजोरी र जनताको माग आवश्यकता अनुसार नभएका पनि हुन सक्छन् । आगामी दिनमा यी पक्षहरूलाई सुधार गर्दै जाने छौँ ।

विकास निर्कामाणका कामहरू बिस्तारै हुने कुराहरू हुन्, कतिपय अवस्थामा छिटो छरीतो नभएका पनि होलान् । हामीसँग सीमित स्रोत साधनहरु हुन्छन् ती सीमित स्रोत साधनलाई जनताका असीमित माग र इच्छाहरूलाई सम्बोधन गर्ने क्रममा हामीले सोचे जस्तो नभए पनि एकै चोटी पाँचै वर्षमा सबै विकास हुने चिज पनि होइन । तर मलाई लाग्छ पाँच वर्षमा धेरै कुराहरू निर्माण भएका छन् । पुरा नभए पनि विकासको जग बसेको छ । अझ फेरी जनताले हामीलाई फेरी अमूल्य मत दिएर जिताउनु भयो र विकासको जिम्मेवारी दिनु भयो भने पाँच वर्षको सिकाइबाट अझ सुदृढ ढङ्गले अगाडी बढेर यो पाँच वर्षमा भएका कामहरू भन्दा दोब्बर तेब्बर हिसाबले अगाडी बढ्ने प्रतिबद्धता गर्न चाहन्छु । यो सामाग्री हामीले न्युज अफ नेपाल डट कम बाट साभार गरेका हौ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै