मिनियापोलिस : प्रहरीको गोलीले एक जना अश्वेत युवाको निधन भएपछि अमेरिकामा प्रदर्शन चर्केको छ। प्रहरी अधिकारीले मिनियापोलिसको उत्तरी क्षेत्रबाट कम्तीमा ४० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जनाएका छन्।
ब्रुकलिन सेन्टरमा प्रदर्शनकारीले कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका जनाइएको छ। प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास तथा फ्ल्यास (बेहोस पार्ने) ग्रिनेड प्रयोग गरेका छन्। तनाव बढेपछि दुइटा सहरका मेयरहरूले आपत्काल घोषणा गरिएको छ। मिनियापोलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्। गत वर्षको मेमा एक अफ्रिकी अमेरिकी जर्ज फ्लोइडको हत्या आरोपमा एक जना प्रहरी अधिकारीमाथि दायर मुद्दाको सुनुवाइ चलिरहेका बेला अर्का अश्वेत प्रहरीको गोलीबाट मारिएका हुन्।
आइतबार ट्राफिक नियम उल्लंघन गरेको आरोपमा मिनेसोटाको ब्रुकलिन सेन्टरमा प्रहरीले २० वर्षीय डन्टे राइटलाई कारबाट बाहिर निकालेको थियो। तर राइट फेरि कारमा पसेपछि प्रहरीसँग भएको संघर्षमा उनको मृत्यु भएको हो ।
ब्रुकलिन प्रहरीले दुर्घटनावश राइटलाई गोली लागेको बताएको छ। मिनेसोटा प्रहरी प्रमुख टिम गाननले घटनालाई ‘एक दुर्घटना’ बताएका छन्। एक पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको भिडियोसमेत देखाएका थिए। भिडियोमा ती अधिकारी किम पोटरले राइटलाई हत्कडी लगाउन खोजेकी थिइन्। त्यसक्रममा उनी जबर्जस्ती कारमा पसेर बस्न खोजेको देखिन्छ। त्यसपछि अश्वेत युवा कारको सिटमा बस्छन् र कार गुडाउन थाल्छन्। लगत्तै पोटरले ‘मैले उसलाई गोली हाने’ भनेको भिडियोमा सुन्न सकिन्छ।