अस्ट्रेलिया: अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्। प्रधानमन्त्री मरिसनले विक्रम संवत्को नयाँ वर्षलाई विश्वभरि रहेका नेपालीले सामूहिक उत्सव मनाउने क्षणका रूपमा चित्रित गरेका छन्।
नयाँ वर्षको अघिल्लो दिन एक प्रेस विज्ञप्तिमार्फत मरिसनले दिएको शुभकामनालाई अस्ट्रेलियामा बढ्दै गएको नेपाली समुदायको प्रभाव र उपस्थितिले महत्त्वपूर्ण स्थान पाएको रूपमा अर्थ्याइएको छ। नेपाली समुदायले अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउन निरन्तर योगदान दिइरहेको जनाउँदै मरिसनले नेपालीले मनाउने नयाँ वर्षले सबैलाई खुसी दिने बताए।
कोरोना भाइरसको महामारीका बेला अस्ट्रेलियास्थित बहुसांस्कृतिक समुदायले नेतृत्वदायी भूमिका निर्बाह गरेको स्मरण गर्दै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियालाई आफ्नो घर सम्झने नेपालीको पनि महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे। ‘नयाँ वर्ष विगतलाई मूल्यांकन गर्ने र भविष्यका लागि आशावादी हुने अवसर भएको’ मरिसनको भनाइ छ। प्रधानमन्त्री मरिसनले यस पटक नयाँ वर्षका औपचारिक उत्सव अन्य वर्षका तुलनामा केही फिका हुने भए पनि आगामी दिनमा स्थिति सहज बन्ने विश्वास व्यक्त गरे। उनले अस्ट्रेलियामा रहेका नेपाली मात्र नभई विश्वभरका सबै नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको महामारी सबै मिलेर अन्त्य गर्दै उज्ज्वल भविष्य निर्माण गर्नुपर्ने उल्लेख गरे।
अस्ट्रेलियाको मन्त्रीस्तरीय सल्लाहकार समितिको सदस्यका रूपमा काम गरेका नेपाली महेन्द्र लम्साल प्रधानमन्त्री मरिसनको शुभकामना अस्ट्रेलियामा बढ्दै गएको नेपाली जनसंख्या र उनीहरूले पुर्याएको योगदानको कदरस्वरूप आएको दाबी गर्छन्।