नेभिगेशन
समाज

मल्लेसी पहिरो घटना : न आँशु रोकिए न घर बने

बझाङ : २०७७ साल जेठको पहिलो साता कटे जेठारासहित मल्लेसी गाउँका चारपाँच जना मजदुरीका लागि भारतको पिथौरागढमा लागे । दुइ दिनको यात्रापछि कटे र उनका साथीहरु पिथौरागढ पुगे । पुगेकै भोलीपल्ट उनीहरु कामको खोजीमा लागे । घर बनाउने काम पाए । काम पनि राम्रै थियो । काम गर्दा निधारबाट तररर....चुहिएका पसिनालाई दायाँ हातले लुरुक्क पुछ्दै कटे मनमनै सम्झन्थे यसपाली श्रीमति र छोराछोरीलाई एकसरो लुगा फेरि दिनु छ । वर्षदिनमा एकसरो नयाँ लुगा पाउँदा श्रीमती र छोराछारी आडैमा आएर अँगालो हाल्ने छन् । पारिवारिक खुशीलाई थाती राख्दै फेरि थप्थे काँधमा इँटाको भारी । दिनभरीको कामले शरिर साँझ बासस्थानमा पुग्दा फत्रक्क थाकेको हुन्थो । तर कटेको मनमा साँचिएका सपनाले उनलाई थकान महशुस गर्न दिदैनथ्यो । कटे भोली फेरि सवेरै उठेर सधैंझै काममा जान्थे ।


भन्छन् “पारिवारको खुशीलाई सम्झदाँ लागेको थकान हराउँथ्यो । मिल्थ्यो त रातमा पनि काम गरेर सबैभन्दा बढी पैसा कमाउने थिएँ । तर मेरो खुसीमा दैवको आँखा लाग्यो ।” यो वास्तविक कथा केदारस्यूँ गाउँपालिका - ८ मल्लेसी गाउँका कटे जेठाराको हो । दैनिक श्रम गरेर परिवारको खुसी आनाआना गरेर जोड्ने कटेलाई दैवले एकपटकलाई थिचिने गरी पिडा दियो । आना आनामा जोडिएको खुसीको जालो एकै झट्कामा हिलोसँगै विलय भयो । “मिठो मसिनो खान परिश्रम गर्नै पर्ने भएपनि भगवानले मलाई एक न एक दिन खुशी दिने छन्, शुख दिने छन्, भन्ने विश्वास थियो । तर भगवान पापि रहेछन्, भएको खुसी समेत लुटेर गए ।” कटेले भने । कुरा गर्दागर्दै आँखाभरी आँसुको आहाल थियो । सायद उनले आँसु देखाउन चाहेनन्, बाँया तिर फर्किएर आँसु पुछेर फेरि मै तिर फर्किए ।  


कटे र उनका साथीहरु पिथौरागढमा काम गर्न थालेको पनि एक महिनाभन्दा बढी नै भयो । थप एक महिना काम गरेर घर फर्कनै सल्लाह थियो । विश्वभर कोरोना महामारीको कारण लकडाउन थियो । पिथौरागढमा पनि लगडाउन थियो । तर निर्माणका काम भने संञ्चालनमा थिए । कटे सम्झन्छन् “असारको १८ गते राती खाना खाएर सवैजना सुत्यौ । खै किन हो मलाई आदि रात वितिसक्दा पनि निन्द्राले छाएन् । सायद ३ वजे तिर निन्द्रामा परेछु । सुतेको एकघण्टा नवित्दै गाउँबाट फोन आयो । एक्कासी विहानै फोन आँउदा मनमा अनेक तर्कना खेल्न थाले । मन डरायो तर पनि  हिम्मत जोटाएर फोन उठाए ।” भक्कानिदै कटेले भने “मैले सोचेभन्दा फरक खबर सुने । मन टुक्रियो, मैले देख्ने संसारमा अध्याँरो छायो।”

एक्कासी एकाबिहानै घरबाट फोन आउँदा घरमा कोही विरामी भयो कि भन्ने मनमा सोचेका कटेलाई पहिरोमा परि घरका सबै सदस्य बेपत्ता भन्ने खवर आयो । “अपत्यारीलो खबर पत्याउने मुटु थिएन् तर पनि मैसँग गएका अन्य साथीहरुले समेत फोन गर्दा गाँउमाथिबाट एक्कासी पहिरो फुटेर गाउँ नै बगाएको भन्ने सुनेपछि पत्याउनै पर्‍यो” उनले भने । खवर सुन्ने वित्तिकै उनी नेपाल आउने तयारी गरे । लकडाउन भएका कारण घर बनाउने काम गरेको आधा महिनाभन्दा बढीको पैसा ठेकेदारले दिएको थिएन् । नेपाल आउने नाकामा कडाई थियो । बल्लतल्ल उनी जीप बुकिङ गरेर बझाङ पुगे । “बझाङ त पुगेँ तर घर पुग्न मैले १५ दिन क्वारेन्टाइनमा बस्नु पर्‍यो । जिल्ला बाहिरबाट आएका हरुलाई क्वारेन्टाइनमा राख्ने गरेको रहेछ गाँउपालिकाले । त्यसपछि म बाग्थलाको शिक्षोदय मावीमा बनाइएको क्वारेन्टाइनमा बसेँ ।”


कटे क्वारेन्टाइनमा बसेको १४ दिनपछि कोरोना जाँच गरियो । “पछिल्लो दिन रिर्पाेट पनि आयो । कोरोना रिर्पाेट त नेगेटिभ आयो । तर कटेको कानले पराइको भूमिका सुनेको खबर नेगेटिभ हुन सकेन् । क्वारेन्टाइनबाट मुक्तपछि साउन ३ गते गाउँ पुग्दा पुरै सन्नाँटा छाएको थियो । गाउँका धारामा बग्ने पानीमा नुनिलो स्वाद पाउन थाले । गाउँमा न त घर थियो न त जहान ।” त्यसपछि गाउँ छोडेर कटे अहिले गण्डकी बजारमा सानो टिनको छाप्रोमुनी चिया पसल थापेर बसेका छन् । भन्छन् “जसका लागि म दिनरात खुसी किन्न हिड्थेँ उसैलाई भगवानले खोसेर लेगपछि मैले कस्का लागि गाँउमा बस्नु र सर ?” उनले सोधेको प्रश्नको कुनै जवाफ थिएन मसँग । एउटै प्रश्नले नाजवाफ भएको म कटेले पकाएको एक गिलास तातो चिया पिएर त्यहाँबाट निस्के ।  


मल्लेसीमा गएको पहिरोमा परी ७ जनाको ज्यान गएको थियो । जसमध्ये चार जना कटे जेठाराका घरका परिवार रहेका थिए । कटे जेठाराले श्रीमती, दुई छोरी र एक छोरा गरी ४ जनालाई गुमाएका थिए । यो पिडा उनलाई अहिले पनि उत्तिकै पोल्ने गरेको छ । 


एक वर्षसम्म बनेनन् घर
२०७७ साल असार १९ गते जिल्लाको केदारस्यूँ गाँउपमलिका वडा नं. ८ को मल्लेसी गाउँमा पहिरो जाँदा ७ जनाको ज्यान गएको थियो भने २२ वडा घर बगाएको थियो । एक्कासी राती २ बजेतिर गाउँभन्दा माथिबाट पहिरो फुटेर गाउँ नै बगाएको थियो । पहिरो आउने कुनै संकेत नै नभए पनि एक्कासी राती पहिरो फुट्यो मल्लेसीबासीले ठूलो क्षती बेहोर्नु परेको थियो । पहिरोले घरखेत बगाएर सुकुम्वासी जस्तै बनेका त्यहाँका स्थानीयले एक वर्ष बित्दा पनि बस्नलाई घरको छानो हाल्न पाएका छैनन् । गाउँमा पहिरो गएर मानसिक र भौतिकरुपमा विछिप्त मल्लेसीबासी अहिले फेरि त्यही पिडा भोग्नु पर्ने त होइन ? भन्ने चिन्तामा छन् । 


केन्द्र सरकार प्रदेश सरकार र स्थानिय सरकारले यो आर्थिक वर्षभित्र पहिरोले बगाएका २२ वटा घर निर्माण गर्ने आश्वासन पाएको भए पनि अहिलेसम्म उनीहरुका घर बन्न सकेका छैनन् । मल्लेसी पहिरो पिडित गोरे जेठारा भन्छन् “जनप्रतिनिधिहरुले अहिलेसम्म हामीलाई बस्ने व्यवस्थापन गर्न सकेका छैनन् । बर्खाको समय सुरु भइसक्यो । कति अरुको घरमा नै बास मागेर बस्नु ।” देशभर कोरोना महामारीको भयावह स्थिती बनेको छ । मजदुरी गरेर खाने वातावरण पनि नभएकाले गाँउपालिकाले तत्कालका लागि राहतको व्यवस्थापन गरिदिन पर्ने स्थानीयहरुको माग रहेको छ । 


यता केदारस्यूँ गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष गणेश बोहराले पहिरो पीडितका लागी घर बनाउन पहल भइरहेको बताउनु भएको छ । यो आर्थिक वर्षको असाढभित्रमा नै २२ वटा घर निर्माण गरिदिने भनेर प्रदेशले आश्वासन दिएको र अन्तमा आएर प्रदेशमा बजेट छैन् भन्ने जानकारी गराएकाले यो आर्थिक वर्षमा मल्लेसी पहिरो प्रभावितका घर नबन्ने बताउनु भएको छ । फेरि केन्द्र सरकारलाई पहिरो प्रभावितका घर निर्माणका लागी पहल गरेको र २२ वडा घरका लागि प्राविधिक स्टेमेटसहित फाइल प्रशासन मार्फत बुझाएको वडा अध्यक्ष बोहराले बताउनुभएको छ । 

विभिन्न व्यक्ति र संस्थाले पठाएको रकम खातामा राखिएको र उक्त रकम हिनामिना भएको पिडितको गुसनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै