नेभिगेशन
राजनिति

अब अर्को सरकार कसरी बन्छ ? के केपी ओली अझैं नेतृत्व गर्न सक्छन् ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् ।

प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का एक सांसद तटस्थ बसेका छन् ।

संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष राजु चापागाईंका अनुसार, प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनासाथ प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो, नभए पनि प्रतिनिधिसभामा विश्वासको मत लिनैपर्थ्यो । उनको तर्कमा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा फुटेर दुई दल भयो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता गरे ३० दिनमा नै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ‘लिनुपर्ने बेला विश्वासको मत नलिएर अहिले बल्ल प्रस्ताव अघि बढाउनुमा कुनै न कुनै स्वार्थ हुन सक्छ,’ अधिवक्ता चापागाईंले भने ।

प्रधानमन्त्री ओलीले संविधानको धारा १०० अनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन् । संविधानको धारा ७६ र १०० को उपधारा १ र २ अनुसार प्रधानमन्त्रीले पाँच अवस्थामा विश्वासको मत लिन सक्छन् । एक त उनलाई मन लागेको जुनसुकै बेला प्रतिनिधिसभामा बहुमत सदस्यहरुको आफूलाई समर्थन छ भन्ने सुनिश्चित गर्न विश्वासको मत लिन सक्छन् । दुई वा बढी दलको संयुक्त सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । यस्तै, धारा ७६ (३) अनुसार गठन हुने अल्पमतको सरकारको प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १५२ मा प्रस्तावको सूचना कसरी दिने, मिति र समय कसरी तोक्ने, कसरी मतविभाजन गर्ने भन्नेजस्ता विषय छन् । उक्त नियमको उपनियम ८ मा भनिएको छ, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा सभामुखले सो को जानकारी राष्ट्रपतिलाई दिनेछ ।’ त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ प्रयोग गर्नुपर्नेछ । संविधानको धारा ७६ मा ‘मन्त्रिपरिषद् गठन’ सम्बन्धी व्यवस्था छ र गत पुसमा प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतमा सबैभन्दा बढी बहस र छलफल भएको यही धारामाथि हो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

अर्को शंका

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भइसकेका छन् । अब अहिलेको सरकार अर्को प्रधानमन्त्री नियुक्त नहुँदासम्म कामचलाउ रहनेछ । त्यसपछि दुई वा बढी दलको समर्थनमा बहुमत जुटाएर कुनै सांसदले दिने निवेदनका आधारमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हो । त्यसो नहुँदै प्रधानमन्त्री ओलीले त्यो अवस्था नरहेको भनी धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा आफूलाई नियुक्त गरियोस् भनी प्रस्ताव गर्ने आशंका पनि कतिपयको छ । धारा ७६ (३) मा बहुमतको सरकार नबने प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

‘केही दिनअघि राष्ट्रपति कार्यालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बहुमतको सरकार बन्ने सम्भावना नरहेको अवस्था देखाएर सोझै ओलीलाई नै अल्पमत (धारा ७६ को उपधारा ३) बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गर्दा कसो होला भनेर सुझाव पनि मागिएको रहेछ,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘प्रधानन्यायाधीश जबराले समेत त्यस्तो गर्न नमिल्ने जवाफ दिएका रहेछन् ।’

अधिवक्ता टीकाराम भट्टराईका अनुसार एउटा संयुक्त सरकार ढलेपछि त्यस्तै खालको अर्को संयुक्त सरकारको पहल हुनुपर्छ र त्यो नभए मात्रै अल्पमतको सरकारको विकल्पमा जाने हो । ‘मनमोहन अधिकारीको पालाको विघटन र यसपटकको विघटनको फैसलाको संक्षिप्त निर्णयमा पनि त्यसबारे उल्लेख छ,’ भट्टराईले भने, ‘उपधारा २ (संयुक्त सरकार) को प्रयास नगरी सोझै उपधारा ३ (ठूलो दलको अल्पमतको सरकार) गठनको बाटोमा जान मिल्दैन ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत फागुन ११ गते गरेको निर्णयमा पनि दुई वा बढी दल मिलेर बहुमतको सरकार बनाउन नसके मात्रै सबैभन्दा बढी मतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री चुनिने भन्ने व्याख्या थियो ।

‘संविधानको धारा ७६ को १ देखि ७ को समग्र बनोट हेर्दा एकपछि अर्को प्रक्रियागत अभ्यासको रूपमा प्रधानमन्त्री नियुक्त हुन नसकेमा वा विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ७ बमोजिम तत्काल बहाल प्रधानमन्त्रीको सिफारिसमा विघटन हुने संवैधानिक व्यवस्था देखिन्छ,’ निर्णयमा भनिएको थियो, ‘संविधान निर्माताले संसद्ले सरकार दिन सक्ने अवस्था र विकल्प कायम रहेसम्म धारा ७६ को उपधारा ७ मा उल्लेखित प्रावधान (प्रतिनिधिसभा विघटन) को अभ्यास गर्नुपर्ने अवस्थाको परिकल्पना गरेको देखिँदैन ।

अधिवक्ता राजु चापागाईंका विचारमा अहिलेको सरकार ढल्नु भनेको निर्वाचनपछिको ताजा जनादेशका आधारमा सरकार गठनको प्रक्रिया थाल्नुसरह हो । राष्ट्रपतिले संविधानको धारा ७६ अनुसारको प्रक्रिया थाल्नुपर्छ, त्यसपछि क्रमैसँग एकपछि अर्को विकल्प प्रयोग गर्नुपर्छ । प्रक्रिया अघि बढ्दै गएर अन्तिममा मात्रै कुनै पनि प्रधानमन्त्रीले विश्वासको मत नपाए प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने उपधारा ७ प्रयोग हुन सक्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन आह्वान गरिसकेकी छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।