नेभिगेशन
समाचार

आज फूलपाती, घरघरमा भित्र्याइँदै

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,” उनले भने ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताए ।  

यस्तै, हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।  

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्दछ ।

फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिंगे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा

बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ । चैनपुर बजार र चौड बजारलाई जोड्ने...
छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित

छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित

जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ।
छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा

छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने कलक धामीमाथि कार्यालयमा सुतिरहेको अवस्थामा सामूहिक आक्रमण भएको छ।
यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु

यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।  अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस...
भर्खरै