नेभिगेशन
समाचार

वर्षाले मुलुकभर जनजीवन प्रभावित, आइतबारसम्मै वर्षाको सम्भावना

शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अति भारी वर्षासमेत भएको छ । विभागले १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा लिने गरेको छ । १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र त्यसभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ ।

शुक्रबार राति ९ बजेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापामा २९९ मिलिमिटरसम्म वर्षा मापन भएको छ । झापाकै केचनामा २२८, चन्द्रगढीमा २९८, बिर्तामोडमा २५३, गौरादहमा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ । इलाममा १५९ मिलिमिटर, विराटनगरमा १६९, सप्तरीमा १५५ र बारामा १४६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, चितवनमा १५८, नवलपरासीमा १७३, भैरहवामा १५४, कपिलवस्तुमा १४९, गुल्मीमा १५१, पाल्पामा २६७ र धनगढीमा १०४ मिलिमिटर वर्षा भएको छ । 

अविरल वर्षाका कारण दर्जनौं नदीमा जल सतह जोखिमपूर्ण अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकामा वाग्मती नदीले पनि खतराको पार गरेको छ । विष्णुमती, धोबीखोला, ललितपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । जल मापन केन्द्र खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु, विष्णुमती र गोंगबु बसपार्कमा पानीले जल सतह सतर्कताको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी तटीय क्षेत्रमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशय भरिन लागेको भन्दै जिल्ला प्रशासनले सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीमा जलाशय भरिएर जुनसुकै बेला बाँधका ढोका खोल्नुपर्ने स्थिति रहेको प्रशासनले जनाएको छ ।

संघीय राजधानी भित्रिने पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको छ । मुलुकका अरू दर्जनौं सडकमा पहिरोले आवागमनमा समस्या भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु बाटामै अलपत्र परेका छन् । सडक अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका ५६ जिल्लामा वर्षाका कारण बाढीपहिरोको उच्च जोखिम रहेको भन्दै बिहीबार नै सतर्क गराएको थियो भने आइतबारसम्म भारी वर्षा हुने भएकाले त्यतिन्जेल रात्रि बस नचलाउन आग्रह गरेको थियो ।

शनिबार र आइतबार पनि मुलुकका अधिकांश भागमा वर्षा हुने र आइतबार मध्याह्नपछि मात्र कम हुँदै जाने विभागको पूर्वानुमान छ । विभागका अनुसार शनिबार कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान छ । मौसमविद् मदन सिग्देलका अनुसार देशभित्रै विकास भएको मनसुनी वायुको प्रभाव र भारतको मध्यप्रदेश तथा आसपास क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर एकसाथ वर्षा भएको हो ।

‘नेपालमा अझै मनसुन बाहिरिएको छैन । मनसुन अवधिमा कुनै पनि बेला मनसुन सक्रिय र निष्क्रिय हुने कुरा सामान्य हो । अहिले त्यही मनसुन सक्रिय भएको अवस्था मात्रै हो,’ सिग्देलले भने । यो चरण पूरा भएपछि क्रमशः मनसुन निष्क्रिय हुने र अक्टोबर पहिलो साताबाट मनसुन बाहिरिने उनले बताए ।

जलवायु विज्ञ ङमिन्द्र दाहाल जलवायु व्यवस्थापनमा पर्याप्त ध्यान नदिइँदा जनधनको ठूलो क्षति हुने गरेको बताउँछन् । बस्ती विकासदेखि पूर्वाधार निर्माण गर्दासम्म सरकारले जलवायु व्यवस्थापनलाई ध्यान नदिएको उनको विश्लेषण छ । ‘खोला किनार बस्ती बसेपछि डुबान हुन्छ, बाढी आउँछ । भीर उधिनेर सडक बनाएपछि सडकमा खस्ने पहिरो नै हो,’ उनले भने, ‘यसमा जलवायुको दोष छैन । यो मानवीय कर्मको फल हो ।’

दाहालले विपद्पूर्वको तयारी र पूर्वाधार निर्माणअघि जलवायु व्यवस्थापन अपरिहार्य बनेको तर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने बताए । ‘हामीले मनसुनको सम्भावित अवस्था बुझेर तयारी गर्नुपर्ने हो । तर, त्यो कहिल्यै हुँदैन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा

बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ । चैनपुर बजार र चौड बजारलाई जोड्ने...
छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित

छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित

जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ।
छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा

छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने कलक धामीमाथि कार्यालयमा सुतिरहेको अवस्थामा सामूहिक आक्रमण भएको छ।
यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु

यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।  अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस...
भर्खरै