नेभिगेशन
समाचार

दशैंमा थातथलो फर्किनेले सडकका कारण सास्ती व्यहोर्नुपर्ने अवस्था

नेपाली सनातन धर्मावलम्बीको महान् चाड बडादशैँ तथा तिहार नजिकिँदैछ। अबको पाँच दिनपछि नै बडादशैँ शुरू हुँदैछ।

परदेश गएका र शहर पसेकाहरू गाउँ फर्किने लहर शुरू भइरहेको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट यो वर्ष करिब १८ लाख नागरिक बाहिरिने अनुमान गरिएको छ।

सरकारले दशैँमा काठमाडौं छाड्नेका लागि लक्ष्य गरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ।

एकातिर उपत्यका छोड्नेहरूको संख्या उल्लेख्य छ भने  काठमाडौंसँग जोडिएका सडकहरूको अवस्था भने त्यति सन्तोषजनक छैन। यस कारण यो वर्ष दशैँ तिहार छठ मान्न उपत्यका छोड्ने नागरिकले सास्ती भोग्ने निश्चित छ।

खोड्पे–बझाङ जयपृथ्वी राजमार्गमा शास्ती

दशैं र तिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा खोड्पे–बझाङ जयपृथ्वी राजमार्गमा यात्रुहरू र स्थानीयले कठिनाइको सामना गर्नुपरेको छ। लामो समयदेखि जिर्ण अवस्थामा रहेको यो राजमार्गमा निरन्तर पानी परेको कारणले थप समस्या आएको छ। राजमार्गको विभिन्न भागहरूमा पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै गाडी आवागमन समेत ठप्प हुने अवस्था सिर्जना भएको छ।

स्थानीयले दशैं र तिहारको किनमेल गर्न जिल्ला सदरमुकाम चैनपुर जानुपर्ने भए पनि खोड्पे–बझाङ सडकखण्डमा हुने अवरोधले गर्दा यात्रा चुनौतीपूर्ण भएको छ। सामान्य अवस्थामा पनि यो सडक असहज मानिन्छ, तर वर्षायाममा अवस्था झनै बिग्रने गरेको छ। पहिरोका कारण सडक जाम हुने र कतिपय स्थानमा गाडी फसेर लामो समयसम्म यात्रुहरू अलपत्र पर्ने गरेका छन्। जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा-१ को जालेबगर, बालुवाटार र तमैल बजार आसपास दैनिक अवरोध हुने गरेको छ । 

राजमार्ग मर्मतको अभाव

राजमार्ग मर्मतको कार्य समयमा हुन नसक्दा यो समस्याले बारम्बार दोहोरिने गरेको छ। दशैं र तिहारको समयमा यात्रीहरूको चाप बढ्ने भएकाले समस्या अझ गम्भीर बन्न सक्छ। स्थानीय प्रशासन र सडक विभागले समस्या समाधानका लागि पहल थालेको भए पनि स्थायी समाधानको अभाव रहेको देखिन्छ।

अन्य समयमा जेजस्तो भए पनि हरेक वर्ष चाडपर्वको समयमा यस्तो समस्या आउँदा पनि तत्काल समाधानको लागि कुनै ठोस योजना अघि नबढाइएको स्थानीयवासीको गुनासो छ । 

व्यापार व्यवसायमा पनि प्रभाव

राजमार्ग अवरुद्ध हुँदा व्यापार व्यवसायमा समेत असर परेको छ। दशैं र तिहारको लागि अत्यावश्यक वस्तुहरू ढुवानी गर्न गाह्रो भएको व्यापारीहरूको भनाइ छ। ढुवानीमा ढिलाइ हुँदा बजारमा अभाव सिर्जना हुने जोखिम पनि रहेको छ।

यो समस्याको समाधानका लागि स्थायी रूपमा सडक सुधार र पहिरो रोकथामका उपायहरूको कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग रहेको छ।

देशका कुन सडकको स्थिति के छ?

काठमाडौं जोड्ने कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ। तर दशैँसम्म ती काम पूरा हुनेमा शंका छ। विशेषगरी काठमाडौं भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ। सडक बिग्रेको अवस्थामा छ। अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ। तर पनि दशैँसम्म पूरा हुने अवस्था भने देखिँदैन।

नागढुंगा-नौबिसे सडक खण्डमा करिब  १२ किलोमिटर सडक सबैभन्दा खराब रहेको छ। त्यस्तै नागढुंगा-मुग्लिङ सडक निर्माणाधीन छ। पूर्वी खण्डको मलेखुसम्म र दोस्रो खण्ड मलेखु-मुग्लिङसम्मको काम जारी रहँदा आवतजावतमा समस्या पर्ने देखिएको छर यसैगरी  मुग्लिङ-पोखरा सडकको अवस्था निर्माणको क्रममा छ। मुग्लिङतर्फ अधिकांश सडक बने पनि पोखरातर्फ कालोपत्रे हुन बाँकी रहेको छ।

महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डको अवस्था भने ज्यादै नाजुक अवस्था रहेको छ। ६ वर्षदेखि निर्माण अलपत्र यस सडक खण्डले नागरिकलाई सास्ती दिने पक्का छ। त्यसैगरी सबैभन्दा विजोग अवस्था भने  दाउन्ने पश्चिमतर्फ ४८ किमिमध्ये ३० किमि सडकमा २ लेनको सडक मात्रै कालोपत्रे भएको छ।

पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वय अभावमा बर्सेनी यात्रुले दुःख पाउने गरेको बताए। ‘दिगो सडक निर्माणका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्छ, त्यसबाहेक भौगोलिक अवस्थाबारे पनि राम्रो अध्ययन तथा अनुसन्धान आवश्यक हुन्छ’, उनले भने।

सडक निर्माण सक्न सरकारको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ। विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत चलिरहेको बताए।

‘खानेपानी तथा विद्युतका कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरूकै हो’, उनले भने, ‘काठमाडौं उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दशैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ।‘

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारीरूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए।

दशैँसम्म तीन हजार ८५६.४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ, जसमध्ये सोमबारसम्म ७७२.८५ किलोमिटर सडकमा काम भइसकेको छ। ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए। ‘यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरीलगायतसँग छलफल भइसकेको छ’, उनले भने, ‘चाडपर्वलक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ।’

दशैँमा मनसुन सक्रिय होला?

सडकको सास्ती एकातिर छँदैछ। अर्कोतर्फ मनसुनको जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार फेरि विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षा हुने प्रणाली नै लम्बिएको जनाएको छ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहिबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने भएको छ। 

यसरी हेर्दा कतिपयले दशैँमा पनि पानी पर्ने त होइन भन्दै आशंका व्यक्त गरेका छन्। वरिष्ठ मौसमविद् शान्ति कँडेलले साधारणतया अक्टुबर २ सम्म मनसुन बाहिरिने भए पनि यो वर्ष लम्बिन सक्ने सम्भावना छ। ‘घटस्थापनासम्म मनसुन बाहिरिने सम्भावना कम छ, उनले भनिन्।

यो वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गरेको थियो।  ‘अहिले नै दशैँको दिन पानी पर्ने वा नपर्ने भनेर ठोकुवा गर्न सकिँदैन’, कँडेलले भनिन्।  

१० दिन मनसुन बाहिरिन समय लाग्यो भने हिले दशैं हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कडाइ गर्छौँ : नेपाल प्रहरी

सवारी र यात्रुको बढ्दो चापले राजमार्ग अस्तव्यस्त बन्ने निश्चित छ। त्यसमाथि सडकको अवस्थाले जोखिम उस्तै छ। त्यसमाथि सबै सवारीलाई रूटहरू खुल्ने भएकाले दुर्घटनाको सम्भावना नकार्न सकिँदैन।  बढ्दो दुर्घटना रोक्न प्रहरीले कडाइ गर्ने नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दुर्घटना रोक्न प्रहरीले सधैँ झैँ कडाइ गर्ने जानकारी दिए। राजमार्गमा विभिन्न खालका दुर्घटना रोक्न प्रहरीले सबैखाले उपाय अपनाउने बताए।

‘चाडपर्वमा हामीले यात्रु र नागरिकको सुरक्षाका लागि सबै तयारी गरेका छौं। नागरिकलाई जोखिममा पर्ने कुनै काम पनि हामी हुन नदिने गरी काम गरिरहेका छौँ’, उनले भने, ‘सवारी र चालकको अनुगमन तीव्र पार्छौँ।‘ सिभिल ड्रेसमा प्रहरीहरू समेत खटाउन सक्ने कार्कीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा

बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ । चैनपुर बजार र चौड बजारलाई जोड्ने...
छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित

छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित

जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ।
छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा

छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने कलक धामीमाथि कार्यालयमा सुतिरहेको अवस्थामा सामूहिक आक्रमण भएको छ।
यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु

यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।  अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस...
भर्खरै