शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ। गत असार १७ गते मध्य रातमा सहमति गरेर ३१ गते कांग्रेस र एमालेले सत्ता खोसेपछि माओवादी प्रतिपक्षी बन्न पुगेको हो।
प्रतिपक्षीमा पुगेसँगै माओवादीमा सत्ताच्युत हुनुको छटपटी देखिएको टिप्पणी हुँदै आएको छ। विपक्षमा पुगेपछिको करिब साढे दुई महिनाको उसको गतिविधि पनि उक्त टिप्पणीलाई बल पुर्याउने किसिमको देखिन्छ।
सामान्यतया नयाँ सरकारलाई १०० दिनको शंकाको सुविधा दिने परम्परा भए पनि डेढ महिनामै वर्तमान सरकारविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदनमा उत्रिए। जनताभन्दा स्वार्थसमूह र माफियाको सेवामा सरकार अग्रसर रहेकोले निष्कर्ष सुनाउँदै उनले सुशासनको वेग रोक्न तथा आफू र आफ्नालाई जोगाउने उद्देश्यले कांग्रेस–एमाले मिलेको ठोकुवा गरे, जसलाई सत्ताच्युत हुनुको प्रचण्ड छटपटीका रूपमा अर्थ्याइयो।
काग्रेस–एमालेले संविधान संशोधन गर्ने सहमति गरे पनि माओवादीले शुरुमा चर्को विरोध गरेको थियो। संविधानको मर्ममाथि नै प्रहार गर्न खोजेको भन्दै शुरुमा विरोध गरे पनि पछिल्लो समय उसले आफूलाई संशोधनको बाधक नरहेको बताउँदै आएको छ। शुरुमा चर्को विरोध गर्नुलाई पनि सत्तारुढ दलहरूले सरकारबाट हट्नु परेपछि माओवादीले थापेको अड्को भनेका थिए।
माओवादी अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिका हर्कतहरू भइरहेकाले त्यसविरुद्ध फेरि संघर्ष गर्ने चेतावनी दिँदै त्यसका लागि कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिएका छन्। त्यसलाई पनि छटपटीका रूपमा अर्थ्याउने धेरै छन्।
अहिले भएका सातवटा प्रदेश नै खारेज हुनुपर्ने जनमत बढिरहेका वेला प्रचण्डले १४ वटा प्रदेश बनाउनुपर्ने अभिव्यक्ति दिनु र राजसंस्थाप्रति नरम रूपमा प्रस्तुत हुनुलाई त झन् सत्ताच्युत हुनुको छटपटी छरपस्टिएको टिप्पणी भइरहेका छन्।
केही दिनअघि एक अन्तरवार्तामा प्रचण्डले १४ वटा प्रदेश हुनुपर्ने बताएका थिए भने मंगलबार आफ्नै निवास खुमलटारमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा उनले ‘तत्कालीन राजा ज्ञानेन्द्र नरम भइदिएको भए परिस्थिति बेग्लै हुन्थ्यो’ भनेका थिए।
मिश्रको दाबीलाई आधार मान्ने हो भने भेटमा प्रचण्डले राजा महेन्द्रको प्रशंसा गर्दै ज्ञानेन्द्रसँग मिल्ने कुरामा आफू सम्पूर्ण रूपले विपक्षमा नरहेको सुनाएका थिए।
भेटमा प्रचण्डले भनेका कुरा उल्लेख गर्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गजबका ’भिजनरी’ राजा रहेछन्। द्वन्द्वका वेला मेरा केही साथी राजसंस्थाका बारेमा पूरै नकारात्मक थिएँ। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ। राजा ज्ञानेन्द्रले पनि २०६२।०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो।’
यद्यपि मिश्रको दाबीलाई प्रचण्डको सचिवालयले खण्डन गरेको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको भन्दै खण्डन गरेका छन्।
‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचार राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ,’ मल्लले भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन।’
मल्लले प्रश्न गरेका छन्, ‘पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र?’
प्रचण्ड सचिवालयको प्रतिवादपछि मिश्रले पुनः जवाफ फर्काउँदै गोप्य राख्न भनिएका कुरा सार्वजनिक नगरेको प्रष्ट पारेका छन्। उनले भनेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौं‚ हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै सार्वजनिक गर्दिनँ। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।’
प्रचण्डका पछिल्ला गतिविधिलाई सत्तारुढ दलका नेताहरूले ‘सत्ताबाट बाहिरिनुको पीडा’ भन्ने गरेका छन्। मिश्रसँगकाे भेटलाई प्रचण्डकै पूर्वसारथि डा. बाबुराम भट्टराईले सत्ताविमुख भएकाे प्रचण्ड छटपटीकै रूपमा अर्थ्याएका छन्। उनले प्रचण्ड र मिश्रको भेटबारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धि नखोसिने बताएका छन्।
बाबुरामले भनेका छन्, 'वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ। अहिले 'बिरालो म्याउ' गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।'
यसमा राजनीतिक विश्लेषकहरू पनि सहमत देखिन्छन्। विश्लेषक चन्द्रदेव भट्ट भन्छन्, ‘सामान्यतया १०० दिनपछि सरकारको जजमेन्ट गर्ने परम्परा तोड्दै उहाँले संसद्मा जसरी बोल्नुभयो, त्यसमा सरकारबाट बाहिरिनुको फ्रस्टेटशन व्यक्त भएकै हो। ३२ सिट भएर पनि माओवादी हिजो सत्तामा थियो, त्यो अवसरबाट वञ्चित हुँदा केही असहज महसुस गर्नुभएको हो।’
अर्का विश्लेषक मुमाराम खनाल नेपालका नेताहरू ‘मेगालोमनिया’बाट ग्रसित रहेकाले संसार आफैँले चलाइरहेको ठान्नुका साथै वस्तुस्थितिको मूल्यांकन नगरी बोल्ने गरेको बताउँछन्।
‘अंग्रेजीमा एउटा शब्द छ मेगालोमनिया, त्यो भएको मान्छेले चाहिँ धेरैजसो वस्तुस्थितिको मूल्यांकन गरेर बोल्दैन, तर यो संसार नै मैले चलाइरहेको छु भनेर बुझ्छन्’, उनी भन्छन्, ‘त्यसकारण त्यसो गर्नु/भन्नु ठूलो कुरा भएन।’
माओवादी अध्यक्ष प्रचण्डले विगतमै राजासँग मिल्ने प्रयास गरेकाले अहिले त्यति बोल्नुलाई विश्लेषक खनाल सामान्य ठान्छन्।
‘हिजो माओवादी र राजा मिल्दा पनि राजनीतिक दलहरूलाई पाखा लाउने परिस्थिति त बन्थ्यो तर जुन धेरै क्षणिक हुन्थ्यो। किनभने माओवादी पनि अधिनायकवादी शक्ति हो, राजा पनि। यी दुई अधिनायकवादी शक्तिले त एकअर्कालाई मान्दैनथे’, उनी भन्छन्, ‘तर त्यो कोसिस प्रचण्डले नगरेका होइनन्। यद्यपि माओवादीभित्रै ठूलो प्रतिवाद गर्ने एउटा समूह थियो, जसको नेतृत्व बाबुरामले गरेका थिए। त्यसो हुँदा सार्थक हुन नसकेको मात्र हो।’
माओवादी अध्यक्ष प्रचण्ड आफ्नो महत्त्वाकांक्षा सम्बोधन भएको अवस्थामा शाहवंश मात्र नभई राणा शासन फर्काउन पनि तयार हुने प्रवृत्तिको रहेको विश्लेषक खनाल बताउँछन्।
‘प्रचण्ड आफ्नो महत्त्वाकांक्षा सम्बोधन हुने हो भने शाहवंश त के राणा शासन पनि ल्याउन तयार हुन्छन्। जुनसुकै व्यवस्था होस्, आफू केन्द्रमा होस् भन्ने चाहन्छन्’, उनी भन्छन्, ‘प्रचण्ड राजनीतिक आधारमा होइन, आफ्नो महत्त्वाकांक्षाका आधारमा रणनीति बनाउने मान्छे हुन्।’