नेभिगेशन
इतिहास

इतिहास : सुर्मा सरोवर

यो सरोवर चन्दन पर्वतको १४,१०० फिट उचो हिमालको काखमा बझाङ र दार्चुला जिल्लाको सिमाना साविकको सुर्मा गाविसको हिमाली वन क्षेत्रमा निर्जन,शान्त र रमणीय रुपमा रहेको छ । यो सरोवरलाई प्रायः कुहिरो र बादलले ढाकेको हुन्छ । यो सरोवर एकान्तप्रिय छिपिली, शिखरवासिनी वैष्णवी श्री सुर्मादेवीको वासस्थान हो । यो क्षेत्र ऋषिमुनिहरुको सघन पुण्य तपोभूमि भएकाले ठूलो र प्रसिद्ध तीर्थस्थल मानिएको छ ।

स्कन्दपुराणको मानसखण्डको १४५ अध्यायको ४२ श्लोकदेखि ४४ श्लोकअनुसार त्यहाँ अत्रि ऋषिले ४८ वर्ष चन्दनाद्री तथा सुन्दर वनमा तपस्या गर्दा ब्रह्मा प्रसन्न भइ यो सरोवर सृष्टि गरेर त्यसको बीचमा चतुर्भुज शूल र मुद्गर धारण गरेकी गायत्री रुपकी सुवणर्मयी कान्तियुक्त सुर्मादेवीको मूर्ति ब्रह्मा स्वयम्ले प्रतिष्ठापित गरेकाले यो सरोवरको नाम सुर्मा सरोवर रहन गएको हो । यो चन्दनाद्री वन भएकाले सुगन्धित हरियो वन अनेकौं रङ्गीबिरङ्गी फूलहरु, जङ्गली लसुन यार्सागुम्बाजस्ता विभिन्न जडीबुटी, घामले टल्किएका सुवणर्मयी शिमशृङ्खला भएको यहाँको प्राकृतिक छटा साह्रै मनमोहक छ ।

सुन्दर चन्द्रनाद्री नामक एउटा जङ्गल छ । त्यहाँ सयकडौं तपसाधना गर्नृे ठूलाठूला ढुङ्गाले बनेका गुफाहरु छन् । त्यहाँ सयकडौं ऋषिमुनि तपस्या गर्दछन् । यो पुण्य तपोभूमि हो । विभिन्न पुण्य तिथिमा यहाँ वाद्यवादनका धुनहरु बजेको अनुभव र अनुभमूति भएको भक्तजनहरुले बखान गर्छन् ।

सुर्मादेवी शत्रुसंहारिणी, महिषासुरमर्दिनी, तेजोमयी, विजयादेवीका रुपमा पूज्य छन् । यहाँ सुर्मा सरोवरको गर्भागृहमा सुर्मादेवी रहेको विश्वासमा ठाकू भन्ने बाजा बजाउँदै यात्रीसहित देवी र धलदेउका धामीहरु काँपेर देवता निकाली सरोवरमै स्नान र पूजा गर्छन् । यसको नजिक त्रिकोणात्मक कालिन्दिनी दह छ । यहाँ श्रावण शुक्ल एकादशीको दिन पापनाशिनी कालिका देवीको पूजा हुन्छ । यो दहबाट पवित्र बाहुली गाडको उत्पति हुन्छ भने सुर्मा सरोवरबाट सुनी गाड पूर्वतिर र कालंगा कलावती नदी पश्चिमतिर बहन्छन् । यी दुईटै नदीबीचको भूभागलाई पुराणमा चन्दन पर्वत भनिएको छ । 

हरेक साल श्रावण अमावास्या (बाधा औंसी) देखि नवौं तथा कहिलेकाँही दशौं दिनमा सुर्मा सरोवरको मेला सुरु हुन्छ । यस यात्रामा ठूलठूला टाँगामा ध्वजा नेजा प्रगलाहरु लिएर देवी र धउल्देउका धामी पूजारी यात्रुसहित बाटाभरी शङ्खघण्ट बजाउँदै आशागुर्जा लिएर चाँचाँगर्दै ‘सुषमा सुषमा’ भज्दै बझाङ-चैनपुर सुर्मादेवी-शिलदेवी थानबाट प्रस्थान गर्छन् । यस्तै हालको छबिसपाथिभेरा गाउँपालिकाका घट्याल, बुड्खोर्‍याल नौरा हुँदै सुर्मा सरोवर प्रस्थान गर्दछन् । थपाली, घोगाडा, दौलीचौर, थगुन्नाडाका देउपाँड हुँदै पडछो गर्दै जाँदा-आउँदा ठाकू भन्ने बाजा बजाउँदै वीरपानी, नाचनी, मधुखर्क, बूढा विनायक, जलजला, ठेलठेलो आदि सुर्मादेवी हिमशिखर यात्रा गर्दाका क्रिडास्थल हुँदै तीन दिनमा सुर्मा सरोवर पुगिन्छ । यहाँ पुगेर श्रावण एकादशीदेखि त्रयोदशी तीनदेखि पाँच दिनसम्म मेला लागी स्मितहासिनी देवीको पूजा हुन्छ । यहाँ हजारौं स्वदेशी-विदेशी भक्तजन मेला भर्न आउँछन् । सरोवर स्नान गरेर पितृतर्पण गर्छन् । सुर्मादेवी शुद्ध निष्ठाप्रिय भएकीले यहाँका यात्रीहरु आहारविहारमा एक हप्ताअगाडी शारिरिक, मानसिक र व्यवहारिक रुपमा शुद्ध सङ्कल्पीत भइ सात्विक भोजन पक्वान्न बनाइ थकुन्नाडा जुत्ता खोली नाङ्गा खुट्टा हिँडी ‘सुषमा सुषमा’ जप्दै यात्रा गर्छन् । यहाँ आगो बाल्न नपाइने, छाता ओढ्न नपाइने, पाल हाल्न नपाइने, परम्परागत व्यवहार अनुपम छ । 

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले मेला भर्न आउँदा यहाँ पाल राखेर बस्दा राति नै छल भइ त्यो रात हुरी बतासले हैरान गर्दा बिहान राजाले सरोवरमा गइ सुर्मादेवीसँग क्षमा याचना गर्दै आफ्नो हातको सुनको औंठी सरोवरमाा चढाएका थिए । तर फर्की आउँदा थगुन्नाडा देउपाडमा वास बसी पागरजडी रुखको धारामा गई स्नान गर्दा राजाको बाहुलीमा सो औंठी धाराबाट प्राप्त भइ सुर्मादेवी प्रसन्न भएको आश्चर्यजनक घटना बझाङमा अद्यापी सर्वत्र चर्चित छ ।

यहाँ यात्रा गरि स्नान र पूजा गर्नाले कैलाश मानसरोवर यात्रातुल्य पुण्य प्राप्त हुन्छ । मनुष्य मात्र होइन, सबै प्राणीहरुको यस लोकमा राज्यको सुख भोग गरेपछि बैकुण्ठबास हुन्छ र पितृको मोक्ष हुन्छ भन्ने पुरोणेक्ति छ । जस्तो चाहाना छ त्यस्तै शक्ति, सम्पति, सामथ्र्य, विद्या, बुद्धि प्राप्त हुन्छ भन्ने आम धारण छ । यसको सानोतिनै भए पनि गुठी जग्गा धामी लेक, सेलान खेत, थगुन्नाडा, घट्या, डोगडी, बारिल गाउँ लगायतका ठाउँमा छ । यो मेलामा पहिले पहिले बझाङ्गी राजाबाट हरेक वर्ष धामीलाई चाँदीका बाला, सुनका मुन्द्रा, भिटुली(पगरी), भगुलो सेतो घाँघर र ओढ्ने खास्टो दिने चलन थियो । अब श्रद्धालु भक्तजनले मात्र दिने गर्छन् । 


नोट: याे इतिहास नेपाल सरकारका पूर्व सचिव विष्णुप्रसाद खत्रीले लेखेकाे बझाङ संक्षेपबाट अनलाइनमा परिमार्जित गरिएको हो । यसपछि देवलकी जालपादेवी सहित बझाङको इतिहास लिएर आउनेछौं । द जेपी डेली पछ्याउँदै गर्नुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप इतिहास
आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।
भर्खरै