नेभिगेशन
समाज

नेपालगन्जका घरघरमा संक्रमित

बाँके : कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको नेपालगन्जलाई चपेटामा पारेको छ। सीमावर्ती सहरका घरघरमै संक्रमित बढिरहेका छन्। प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेको हो। 

दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन्। अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन्। नेपालगन्ज उपमहानगरका भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन्। यी प्रमुख आवास क्षेत्र हुन्। यहीँ बसोबास गरिरहेका व्यक्ति संक्रमणको सिकार हुन थालेपछि स्थानीयमा त्रास बढेको छ। स्थानीयले संक्रमण ‘भुसको आगो’ झैं फैलिरहेको बताएका छन्।


संक्रमितको सम्पर्कमा आएका र कोरोनासँग मेल खाने लक्षण देखिएपछि बिहीबार भेरी अस्पतालको प्रयोगशालामा २ सय ८८ जनाको स्वाब परीक्षण गरिएको थियो। तीमध्ये २ सय १४ जनामा संक्रमण देखियो। बिहीबार परीक्षण गरिएकामध्ये साढे ७४ प्रतिशतमा संक्रमण देखिएको हो। नयाँ संक्रमितमध्ये १ सय ३२ पुरुष र ८२ महिला छन्। १ सय ९२ जना नेपालगन्ज उपमहानगरका मात्रै छन्। प्रयोगशालाका अनुसार अधिकांश संक्रमित नेपालगन्ज–१० भृकुटीनगर, नेपालगन्ज–१२ कोरियनपुर र नेपालगन्ज–१८ कारकाँदोका छन्। बर्दियाका १२ र सुर्खेतका ३ जना छन्। संक्रमितमध्ये २० देखि ५० वर्ष उमेर समूहका १ सय ३७ जना छन्, जुन कुल पहिचान भएको संख्याको ६४ प्रतिशत हो।

गत वैशाख १३ गते ३६ घण्टामा २ सय ८८ नमुनाको परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो। परीक्षण गरिएकामध्ये करिब ८१ प्रतिशतमा संक्रमण देखिएको हो। तीमध्ये १ सय ३९ जना पुरुष र ९४ जना महिला थिए। संक्रमितमध्ये बाँकेका मात्रै २ सय ८ जना थिए। तिनमा १ सय ८२ जना नेपालगन्ज उपमहानगरका थिए। बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाका ८ जना थिए। कुल संक्रमितमध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहका १ सय ७४ जना छन्। जुन कुल संख्याको ७५ प्रतिशत हो। गत वैशाख १२ गते ४ सय ७६ नमुना संकलन गरिएकामा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये नेपालगन्जका २ सय ३६, कोहलपुरका २५ जना थिए भने बर्दियाको बारबर्दियाका २१ जनामा संक्रमण देखिएको थियो। उमेर समूहमा २० देखि ४० वर्षका सबैभन्दा प्रभावित देखिन्छन्। २० वर्षभन्दा कम उमेर समूहका ५२ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ।

यो तथ्यांकले नेपालगन्जका घरघरमा कोरोना संक्रमण भेटिएको सहजै अनुमान गर्न सकिन्छ। लक्षण देखिएकाको मात्रै परीक्षण गर्दा पनि ठूलो संख्यामा संक्रमण पुष्टि हुन थालेको प्रयोगशालाले जनाएको छ। ‘पछिल्लो दुई सातामा बाँकेमा ३ हजार १ सय ७४ जना सक्रिय संक्रमित छन्। तीमध्ये २ हजार ५ सयभन्दा बढी नेपालगन्जका छन्,’ नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले भने, ‘नेपालगन्जका घरघरमा कोरोनाका बिरामी हुन सक्छन्। परीक्षण नगरिएको मात्रै हो।’


गत वैशाख ११ गते २४ घण्टामा २ सय ८८ नमुना संकलन गरिएकामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो। तिनमा बाँकेका १ सय ६१, बर्दियाका १२ र अरू बाँकी जिल्लाका रहेका थिए। त्यस्तै, वैशाख १० गते शुक्रबार २४ घण्टामा भेरीमा २ सय ६९ नमुना परीक्षण गरिएकामा २ सय ५० जनामा संक्रमण भेटिएको थियो। तीमध्ये बाँकेका २ सय ३ जना रहेका थिए। बर्दियाका २२ र बाँकी अन्य जिल्लाका थिए। ‘परीक्षणको दायरा बढाउने हो भने अझै पनि संक्रमितको संख्या बढ्न सक्छ,’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दले भने।

संक्रमण घरघरसम्म पुग्नुको प्रमुख कारण भने लापरबाही भएको चिकित्सक र सरोकारवालाले बताएका छन्। सरकारले गत वर्ष समुदायमा संक्रमण फैलिएका बेला पीसीआर परीक्षण बन्द गरेको थियो। परीक्षण रोकिएपछि नेपालगन्जमा कोरोना संक्रमितको संख्यामा कमी आएको थियो। त्यसले संक्रमण नियन्त्रणमा आएको भ्रम सर्वसाधारणलाई भयो। स्थानीय प्रशासनले पनि भेरी अस्पतालको कोभिड वार्डमा आठ जना मात्रै कोरोनाका बिरामी रहेको र केही दिनमै घर फर्किने जनाएको थियो। कोरोना नियन्त्रणमा आएको भन्दै सावधानी अपनाउन छाडिएको थियो। तर पछिल्लो समय लक्षणसहितका बिरामी अस्पताल भर्ना हुन थालेपछि परीक्षण फेरि सुरु गरिएको हो। परीक्षणपछि यहाँको अवस्था भयावह देखिएको छ। भेरी अस्पतालले जटिल अवस्थाका बिरामीबाहेक भर्ना बन्द गरेको छ।- कान्तिपुर दैनिकबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै