नेभिगेशन
सुदूरपश्चिम

१० वर्षमा पनि बनेन बसपार्क, २ करोड ७० लाख खर्च हुँदा पनि प्रयोगविहीन

निर्माण सुरु भएको एक दशक बित्न लाग्दा पनि बझाङको एकमात्रै बसपार्क सम्पन्न हुन सकेको छैन । निर्माणाधीन बसपार्कलाई नगरपालिकाको डम्पिङ साइटको रूपमा प्रयोग गरिएको छ भने आवागमन नै प्रभावित हुने गरी सवारी साधन सडकमा पार्किङ गरिँदै आएको छ ।

२०७० सालमा जयपृथ्वी नगरपालिकाको लगानीमा निर्माण सुरु भएको बसपार्क अहिलेसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । बसपार्क नहुँदा सदरमुकाम आसपासका सडक किनारामा सवारी साधनहरू पार्किङ गर्नुपर्ने बाध्यता छन् ।
‘बसपार्क नभएका कारण दैनिक तीन/चार सय भाडा तिरेर बसहरू व्यक्तिको निजी जग्गामा पार्किङ भइरहेका छन्,’ खप्तड मालिका यातायात व्यवसायी समितिका बझाङ काउन्टर इन्चार्ज नवराज उपाध्यायले भने, ‘नगरपालिकाले बजारभरिको फोहोर बसपार्कमा फाल्ने गरेको छ ।’ बझाङमा सञ्चालन हुने केही यातायात समितिका बसहरू सुरक्षा जोखिम उठाएर बसपार्कमा पार्किङ गर्न खोजे पनि फोहोरको दुर्गन्धका कारण यात्रु र यातायात समितिका कर्मचारीहरूलाई त्यहाँ बस्न र आवतजावत गर्न समस्या हुने गरेको उनले बताए । बसपार्कमा बनेका काउन्टर, शौचालय, खानेपानीको ट्यांकी लगायतका संरचनाहरूमा तोडफोड भएको र पार्किङ स्थलभित्र टहरा बनाएर स्थानीयले बंगुर पालन गर्ने गरेको उनले बताए ।

२०७० सालमा नगरपालिकाले ८० लाख रकम छुट्याएर बसपार्क निर्माणको सुरुवात गरेको थियो । त्यसपछि पटकपटक गरेर करिब २ करोड ७० लाख खर्च भइसके पनि बसपार्क निर्माणले पूर्णता नपाएको जयपृथ्वी नगरपालिका–१० का पूर्ववडा अध्यक्ष दलबहादुर विष्टले बताए । सदरमुकाम चैनपुर भएर बग्ने बाहुली गाडको एउटा भँगालोलाई पुरेर निर्माण हुने बसपार्क ठूलो रकम खर्च भइसक्दा पनि निर्माण सम्पन्न नभएको र सुरुकै ठेक्का पनि अहिलेसम्म सम्पन्न नभएको उनले बताए । ‘सुरुमै दिएको ठेक्काको अहिलेसम्म फरफारक भएको छैन । त्यो ठेक्का पूरा नहुँदै फेरि अर्को कम्पनीलाई अर्को ठेक्का दिइयो । त्यसबाट पनि काम भएन भनेर ७० लाख बजेट थप गरेर उपभोक्ता समितिलाई काम गर्न लगाइयो तर बसपार्क पूरा भएन,’ विष्टले भने ।

डम्पिङ साइटका लागि अन्यत्र ठाउँ उपलब्ध नभएको कारण बसपार्कमा फोहोर फाल्नुपर्ने नगरपालिकाको बाध्यता रहेको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले बताए । ‘केही बस राख्न मिल्ने गरी सम्याएको ठाउँमा केही समितिले पार्किङ गर्न त सुरु गरेका छन् तर फोहोर गन्हायो भनेर गुनासोहरू आइरहेका छन्,’ जोशीले भने, ‘अर्को ठाउँमा डम्पिङ साइटको टुंगो नलागे बसपार्कमा फाल्नुको विकल्प पनि छैन ।’ उनले नगरपालिकाको जेसीबी प्रयोग गरेर फोहोरलाई सकेसम्म एउटा कुनामा व्यवस्थित गर्ने र बसहरू पार्किङ गर्ने वातावरण मिलाउने प्रयास नगरपालिकाले गरिरहेको बताए ।
यसैबीच यही बसपार्क बनाउने भनेर सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय डोटीले ५ करोड ३७ लाखको टेन्डर आह्वान गरेको छ । गत माघमा आह्वान भएको टेन्डर मूल्यांकनको प्रक्रियामा रहेको र केही महिनाभित्र निर्माणको काम सुरु गरिने आयोजना कार्यालयका इन्जिनियर मुकेश यादवले बताए । ‘यसअघि के भएको थियो भन्ने हामीलाई थाहा छैन । आयोजना कार्यालयले ठेक्का खोलेर मूल्यांकनको चरणमा रहेको छ,’ उनले भने, ‘ठेक्का सम्झौता भएको मितिले १८ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्ने गरी काम हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै