बझाङ: सशस्त्र प्रहरी बलका भगौडा व्यक्ति हुन्, पदमराज भट्ट जो नटवरलालको नाममाबाट परिचित छन्। उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमै विभिन्न अपराधमा संलग्न छन्। भट्ट चिटिक्क परेर विशेष गरी महिलाहरुसँग नजिक भएर संगठित रुपमै ठगी गर्दै आएका छन्। उनले दिने परिचयबाट जो कोही पनि सहजै रुपमा उनीसँग आकर्षित र प्रभावित बन्ने गरेका छन्।
समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर छन्। ठगीका अनेक उपाय उनी पोख्त छन्। उनी विशेष गरी महिलाहरुलाई ठग्न संगठित रुपमै लागेका छन्। नटवरलालले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरुलाई ठगी गरिसकेका छन्। महिलाहरुलाई आर्थिक प्रलोभवनमा पारेर नटवरलाले संगठित रुपमै ठगी धन्दा चलाइरहेका हुन्। ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्ट अहिले फरार छन्। विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन्।
परिचय फेरेर ठगी
कहिले नेपाल बैंकको प्रबन्धक भएको परिचय दिने, कहिले प्रहरी अधिकारी भन्दै परिचयपत्र देखाउने मात्र नभएर संयुक्त राष्ट्र संघीय कार्यक्रमको प्रमुख भनेर परिचय दिँदै भट्टले सुदूरपश्चिमबाट करोडौंको ठगी गरिसकेका छन्। दार्चुलाको लेकम गाउँपालिका घर भई धनगढी बस्दै आएका नटवरलाल कञ्चनपुरको शुक्लाफाँटा नगर रडाहाकी एक महिलाको घरजग्गा बिक्री गराउन लैजाँदै थिए। स्थानीयले शंका लागेर सोधपुछ गर्दा उनको बदनीयत खुलेपछि समातिएका थिए। स्थानीयको कब्जाबाट फुत्किन सफल नटवरलाल अझै फरार छन्। दर्जनौको संख्यामा महिलाहरुलाई आर्थिक प्रलोभन देखाएर भट्टले करोडौं ठगी गरेको खुलेको छ।
प्रहरीको फोन ट्रेस
नटवरलालको फोन ट्रेस गरेर बसेको ठाउँ पत्ता लगाएको बताए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन्। नटवरलालले आफू सेभ द चिल्ड्रेनको अफिसर भएको भन्दै कैलालीको लम्कीका व्यवसायीको स्कारपियो भाडामा लिएर एक हप्तादेखि कृष्णपुर र शुक्लाफाँटाका केही महिलालाई ठग्ने योजनामा काम गरिरहेका थिए। भट्टसँगै आफूलाई प्रकाश शाह भन्ने किशोर जोशीलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरीले भने भट्ट विरुद्ध कसैको जाहेरी नै नपरेकाले पक्राउ गर्न समस्या भइरहेको दाबी छ। ‘त्यो ठग नै हो। धेरै महिलालाई आर्थिक प्रलोभनमा पारेर ठगेको छ। तर अहिलेसम्म लिखित रुपमा कसैको उजुरी नपरेकाले अनुसन्धानमा समस्या भइरहेको छ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भने।
नटवरलाल कारागारबाटै ठगी गर्थे
पदमराज भट्ट अर्थात नटवरलाल कारागारबाटै पनि ठगी धन्दा चलाउने गर्थे। एकल महिला, लामो समयदेखि श्रीमानबाट टाढा रहेका, क्याम्पस पढ्ने उमेरका युवतीहरु सबैभन्दा बढी ठगीको निशानामा हुन्थे र भएका छन्। ठगीको सिकार भएका महिलालाई जेलबाटै ब्ल्याकमेल गरेर उनले जेलमा कार्यरत प्रहरीको खातामा पैसा मगाउनेसम्म गरेको खुलेको छ। धेरैलाई त बैंकमा जागिर लगाइदिने प्रलोभनमा पारी लाखौं ठगी गरेका घटना बाहिर आएका छन्। संयुक्त राष्ट्र संघीय कार्यक्रमको विज्ञापन नै खोलेर धेरैलाई ठगी गरेको देखिएको छ। नटवरवालले ठगेका दुई दर्जनभन्दा बढी घटना बाहिर आएका छन्। धेरै महिलाले इज्जत प्रतिष्ठाका लागि मुख खोल्न सकेका छैनन्।
अश्लील भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की
अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएर भट्टले धेरै युवतीलाई आफ्नो ठगी धन्दामा प्रयोग गर्दै आएको पीडितको गुनासो छ। धेरै ठुलो गिरोह नै चलाएर उसले ठगी धन्दा चलाइरहेको प्रहरी स्रोत बताउँछ। दार्चुलाको लेकम गाउँपालिकाका बासिन्दा पदमराज भट्ट सशस्त्र प्रहरी बलमा थिए। भट्ट केही वर्ष जागिर खाएर भगौडा भएका हुन्। उनका भाइ किशोर जोशी भने ठगका प्रमुख सहयोगी हुन्। किशोर अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन्।
विवाहको प्रलोभन देखाएर ठगी
प्रहरीका अनुसार भट्टले ४ विवाह गरेको खुलेको छ। जेठी श्रीमती सशस्त्र प्रहरीमा छिन्। अरु तीन जनाले ठग भएको थाहा पाउने बित्तिकै सम्बन्ध विच्छेद गरिसकेका छन्। उसको सम्बन्ध प्रहरीका अधिकारी, अपराधी, अदालतका कर्मचारी र नेतासँग भएको पीडित बताउँछन्। उनले अदालतलाई समेत झुक्याएर नक्कली आदेश पत्र कारागार पठाएर फरार भएको खुलेको छ। ठगीको सिकार भएका महिलालाई जेलवाटै ब्ल्याकमेल मात्र नभएर जेलमा कार्यरत प्रहरीको खातामा पैसा मगाउने गर्थे। कैलाली कारागारमा कैद परेको बेला भट्टको लागि ६ जना प्रहरीले आफ्नो खातामा पैसा मगाएर सहयोग गरेका कारण निलम्बनमा परेका थिए।