नेभिगेशन
सुदूरपश्चिम
खाद्य संकट

बझाङबासी भन्छन् : खडेरीले बिउ राख्न समेत नपाइने भयो

थलारा गाउँपालिकामा यस वर्ष खडेरीले नगदेवालीमा मात्रै ९३.२५ प्रतिशत क्षति भएको एक तथ्यांकले देखाएको छ । सुख्खा खडेरीले थलारा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा ९३.२५ प्रतिशत ह्रास आएको सूचना संकलनमा खटिएको एक टोलीले निष्कर्ष निकालेको हो ।

सूचना संकलन टोलीले थलारा -१ को थापागाउँका ३०, वडा नं.  २ बगाडाका ३४,  वडा नं. ३ धामीगाउँका ३९ र वडा नं ४ डिख्लाका ८२ गरि १ सय ८२ घरधुरीबाट तथ्याङ्क संकलन गरिएको सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बल बहादुर रोकायाले बताउनुभयो  । 

यो वर्ष लामो खडेरीले सबैतिर अन्नबालीमा ह्रास आएको भए पनि थलाराका वडा नं १, २, ३, र ४ का बस्तीहरूमा बढी प्रभाव  परेको छ ।

तथ्याङ्क संकलन टोलीले त्यहाँका स्थानीयसँग पनि अन्तरक्रिया गरेको र यो वर्ष भोकमरी हुने हुँदा तत्काल सरकारले राहतको व्यवस्था गरिदिनुपर्ने, सुपथ मूल्यमा खाद्य सामाग्री उपलब्ध गरिदिनुपर्ने र आगामी सिजनमा खेतीका लागि बीउसमेत नरहेकाले निःशुल्क गहुँको बीउ उपलब्ध गराइदिन माग गरेका छन् । खडेरीले पानीका मुहानसमेत सुक्दै गएकोसमेत उनीहरूले गुनासो पोखेको बझाङ जिल्ला  खाद्य अधिकार सञ्जाल बझाङका संयोजक जगदीश  रोकायाले  बताए । 

 थलाराका अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा खेती गरिने हुँदा बढी प्रभाव परेको बताइएको छ । तथ्याङ्क संकलन टोलीमा सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया, बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया र थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्का रहनुभएको थियो।

जिल्लाभर खाद्य संकट

खडेरीका कारण जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, वित्थडचिर, केदारस्युँ, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्ना गाउँपालिकाका अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएको छ। सुर्मा, मस्टा, तल्कोट र साइपाल गाउँपालिकामा पनि लगाइएको हिउँदे बाली खडेरीको चपेटामा परेको छ। ‘पहिला मानो छरे मुरी फल्ने ठाउँमा यो पाला पाथी बीउले मानो पनि उब्जिएन,’ जयपृथ्वी नगरपालिका कैलाशका भरत कामीले भने, ‘रुडा (खडेरी) ले गर्दा माटो खरानी जस्तै भएको छ। आदै (आर्द्रता) नभएपछि उम्रेको बीउ पनि सुक्यो। हामी त भोकै मर्ने भयौं,’ उनले सामान्य अवस्थामा वार्षिक १०/१५ क्विन्टल हिउँदे बाली फलाउने किसानको खेतमा यो वर्ष एक क्विन्टल पनि उब्जनी नभएको बताए। ‘सिमार (छिपछिपे पानी भइरहने खेत) तिर खेत हुने कसैकसैले एक दुई कट्टा (५० किलोको बोरा) भित्र्याए होलान्। धेरैजसोले त अन्नको गेडोसम्म देख्न पाएनन्,’ उनले भने।


कतिपय गाउँका किसानले उम्रिएको बाली खेतमा सुक्न थालेपछि फल नलाग्दै घाँसको रूपमा बस्तुभाउलाई खुवाएको र कतिपयले खेतमा आगोसमेत लगाएको बताए। ‘धेरैजसोले फल्ने होइन, सुकेर यत्तिकै खेर जानुभन्दा घाँस त हुन्छ भनेर बस्तुभाउलाई खुवाए,’ छबिस पाथीभेरा गाउँपालिका– ६ लेकगाउँकी इन्द्रा बुढाले भनिन्, ‘कतिले त घाँसका लागि पनि काम नलाग्ने गरी सुकेकाले खेतमै आगो लगाइदिए।’ उनले करिब ३ सय ५० परिवारको बसोबास रहेको आफ्नो गाउँका धेरैजसो परिवारले यो वर्ष अन्नको गेडो पनि देख्न नपाएको बताइन्।

खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको एक टोलीले सिँचाइ सुविधा नभएका ठाउँहरू खडेरीबाट नराम्ररी प्रभावित भएको बताएको छ। ‘९० प्रतिशतभन्दा बढी किसानले यो वर्ष हिउँदेबाली देख्नसमेत पाएका छैनन्,’ सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजकसमेत रहेका अध्ययन टोलीका एक सदस्य बलबहादुर रोकायाले भने, ‘कृषिकै भरमा जीवन चलाइरहेका सयौं परिवार यो वर्ष भोकमरीको चपेटामा पर्ने देखिएको छ।’ उनले खडेरीपीडित किसानलाई तत्काल राहत र रोजगारीका अवसर उपलब्ध गराउन सरकारले तत्काल पहल थाल्नुपर्ने बताए।

१४ हजार परिवारलाई चरम खाद्य संकट सेती, कालंगा, सुनिगाडलगायत नदी र खोलाको तटमा रहेका तथा बाह्रैमास सिँचाइ सुविधा भएका सीमित क्षेत्रबाहेक आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादन ९० प्रतिशतदेखि शतप्रतिशतसम्म घटेको जिल्ला कृषि ज्ञान केन्द्रले बताएको छ। जिल्लाभरि १५ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा गहुँ, जौ, केराउ, मसुरो, तोरीलगायत बाली खेती गरिएकामा ६ हजार २ सय २४ हेक्टर क्षेत्रफलको उत्पादन शून्य रहेको ज्ञान केन्द्रको तथ्यांक छ। खडेरीका कारणले ३२ करोड ६७ लाख ६० हजार बराबरको ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदे बाली नष्ट भएको ज्ञान केन्द्रले जानकारी दिएको छ।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये सिँचाइ सुविधा भएको ३५ प्रतिशत क्षेत्रफलमा लगाइएको बालीमा खडेरीको कुनै असर नदेखिएको भए पनि असिञ्चित जमिनमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए। ‘सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ,’ उनले भने, ‘पहाडी र उच्च पहाडी भेगका १४ हजारजति घरधुरीलाई चरम खाद्य संकट हुने भएको छ,’ उनले जिल्लाको ४५ प्रतिशत जनसंख्या खडेरीका कारण भोकमरीको चपेटामा पर्ने निश्चितजस्तै भएको बताए। उनले सामान्य अवस्थामा वार्षिक उत्पादन ३२ हजार मेट्रिक टन हुने गरेको र जिल्लामा उत्पादित खाद्यान्नले नपुगेर ७ हजार मेट्रिक टन अपुग हुने गरेको उनले जानकारी दिए। ‘यो वर्ष घटेको परिणाम जोड्ने हो भने करिब १३ हजार ५ सय मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ।’ यसरी उत्पादन घट्दा कृषिमै पूर्ण रूपमा निर्भर रहेका, रोजगारी नभएका, न्यून आयस्रोत भएका परिवारले चरम खाद्य संकटको सामना गर्नुपर्ने हुन्छ,’ उनले भने।

खडेरीको मारमा परेको क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा गरेर कुनै न कुनै रूपमा यहाँको समस्या तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए। ‘राहत प्याकेज उपलब्ध गराउने, कामका लागि खाद्यान्न कार्यक्रम लागू गर्ने वा अरू केही न केही गर्नैपर्ने अवस्था छ, त्यसो भएन भने स्थिति भयावह हुन सक्छ,’ उनले भने, ‘हामीले पनि स्थानीय तह, प्रदेश र संघीय सरकारमा यहाँको भोकमरीको समस्यालाई नीति कार्यक्रममै समेट्नका लागि सुझावसहित प्रतिवेदन पेस गर्ने तयारी गर्दै छौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै